नवनियुक्त सभामुख सापकोटा को हुन् ?

रिपोर्ट नेपाल | 2020 Jan 27 | 03:55 pm 2392

काठमाडौं, माघ १३: तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिई रिक्त रहेको सभामुख पदमा नेकपाका नेता अग्नीप्रसाद सापकोटाले माघ १३ गते सोमबार राष्ट्रपनि विद्यादेवी भण्डारी समक्ष शपथ लिएर पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच लामो रस्साकस्सीपछि सदनले सभामुख पाएको छ । अदालतमा विचाराधीन कर्ताव्य ज्यान सम्बन्धि मुद्दा लागेका व्यक्तिलाई सभामुख नबनाउन भन्दै बरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए भने सितल निवासमा शपथ ग्रहण गराउँदै गर्दा बाहिर अधिकारकर्मीले बिरोध जनाइरहेका थिए । सभामुख सापकोटा २०१४ साल फागुन २४ गते सिन्धुपाल्चोक जिल्लाको कुविण्डेमा जन्मीएका हुन् ।

पिता धनपति सापकोटा र आमा तिलमायाको कोखबाट जन्मीएका सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् । श्रीमती र तीन छोराका बाबु रहेका सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा गरेका थिए । ७ वर्ष माध्यामिक विद्यालयको प्राधानाध्यापक बनेका २०३५ सालको चौथो महाधिवेशन पश्चात् पार्टीमा जिम्मेवारी वहन गर्दै आएका थिए ।

सभामुख निर्वाचित हुनुअघिसम्म नेकपाको स्थायी समितिको सदस्य रहेका सापकोटाले शान्ति प्रकृामा आएपछिको पहिलो संविधानसभा निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारीमतले पराजित गराएका थिए ।

२०६८ बैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचारमन्त्री बनेका उनले २०७० को निर्वाचनमा पनि विजयी हासिल गर्न सफल भएका थिए । २०७३ सालमा वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी पूरा गरेका सापकोटाले २०७४ सालको प्रतिनिधिसभा सदस्यमा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा विजयी हासिल गरेका हुन् ।

२०२९ सालमा विद्यार्थी संगठनमा आबद्ध भई राजनीतिक यात्रामा लागेका सापकोटाले २०३५ सालमा पार्टीको सदस्यता ग्रहण गरेका थिए । २०३७ सालमा शिक्षक संघर्ष समितिको सदस्यमा रहेर काम गर्दै अगाडि बढेका सापकोटा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय महासचिव र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । २०४८ सालमा शिक्षकबाट राजीनामा दिई पूर्णकालिन राजनीतिमा होमिएका सापकोटाले २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य बन्न सफल भएका थिए ।

२०५१ सालमा नेकपा (एकता केन्द्र)को केन्द्रीय सदस्य भएका उनी २०५१ असोजमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बनेर २०५२ माघ महिनादेखि भूमिगत बनेका थिए । माओवादी जनयुद्धमा पूर्वी उपक्षेत्रिय ब्यूरो इन्चार्ज बनेका सापकोटा २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट ब्यूरो सदस्यमा निर्वाचित भएर राजनीतिक सफलता हासिल गर्दै गएका थिए । २०५८ को सरकासँग वार्ता गर्ने क्रममा ३ सदस्य टोलीमा सहभागी भई सरकारसँग वार्ता गरेका थिए ।

२०६२ चैत्र १४ गते सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा आयोजित कार्यक्रममा हेलिकोप्टरबाट सेनाले प्रहार गरेको गोली तीन ठाउँमा लागेको थियो । २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा उपत्यका वरिपरीका जनतालाई आन्दोलनमा सहभागी गराउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजनीतिको अनेक आरोहमा सकृयताका साथ सहभागी अग्नी सापकोटा २०७६ को माघ १३ गते सोमबार प्रतिनिधिसभाको विधिवत सभामुख बन्न सफल भएका हुन् । नवनियुक्त सभामुख सापकोटाको आगामी यात्रा दलगतकै हुन्छ कि स्वतन्त्र सभामुख हुन्छ उनको अग्नी परीक्षा हुन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.