नवनियुक्त सभामुखद्वारा चार विधेयक प्रमाणीकरण

रिपोर्ट नेपाल | 2020 Jan 29 | 05:13 pm 1358

काठमाडौं, माघ १५: बुधबार नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसदबाट पारित भई लामो समयदेखि अड्किरहेका चार विधेयक प्रमाणित गरी राष्ट्रपति कार्यालय समक्ष पठाएका छन् ।

सापकोटाले नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक २०७५, प्रहरी समायोजन विधेयक २०७५, भूमीसम्बन्धी आठौं संशोधन विधेयक २०७५ र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक २०७५ प्रमाणित गरी राष्ट्रपति कार्यालय शितलनिवास पठाएको सभामुखको सचिवालयले जनाएको जानकारी दिएको छ ।

सापकोटा आइतबार संसदको प्रतिनिधि सभाबाट निर्वाचित भई सोमबार सपथ तथा पदभार ग्रहण गरेका हुन् । तत्कालीन सभामुख कृष्णबहादुर महराकै कार्यकालमा पारित भएका ती विधेयकहरु प्रमाणित हुन नसक्दा संसद सचिवालयमैं रोकिएका थिए ।

सदनको अध्यक्ष वा सभामुखले मात्र विधेयक प्रमाणिकरण गर्नसक्ने संवैधानिक प्रावधानका कारण ती विधेयकहरु अड्किएका थिए । उपसभामुखले पनि प्रमाणित गर्ने अधिकार नभएका कारण थाँती रहेका हुन् ।

सभामुखबाट प्रमाणित भएपछि अब ती बिधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत प्रमाणिकरण भएसँगै कार्यान्वयनमा आउने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.