नल्लु खोलाको पानीले बाली सपार्नेभन्दा पनि बिगार्ने गरेको दुःखेसो

| 2021 Jun 27 | 08:08 am 2305

ललितपुर, असार १३ः जब कोभिड–१९ को संक्रमण फैलन नदिन २०७६ चैतमा सम्पूर्ण देश कडा ‘लकडाउन’मा थियो, त्यतिबेला सरकारी अधिकारीहरूले कहिलेकाहीँ हिंस्रक रूपमै उत्रेर पनि जनताको आवागमन ठप्प पार्दै सडक सुनसान पारे । त्यतिबेला पनि ललितपुरको नख्खु कोरिडोर, चापागाउँ, गोदावरी क्षेत्रको सडक भने बन्द भएन, बरु टिपरले जाम भएका दृश्य देखिए । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक हुँदै जाने अरनिको राजमार्ग पनि सुनसान थिएन । बालुवा र गिट्टी बोकेर सयौं ट्रक त्यही मार्गबाट काठमाडौं भित्रिइरहे ।

यो वर्ष पनि लकडाउनको समयमा नै व्यापक ढुंगा गिटी ओसारपसार भइरहेको पाइएको छ । ललितपुरको गोदावरी नगरपालिका–५ को टीकाभैरवमा टिपरका कारण एम्बुलेन्स नै रोकिएको गुनासो स्थानीय बासिन्दाले गरिरहेका छन् । जनताको सुरक्षाका लागि निषेधाज्ञा लगाउँदा पनि व्यापारी व्यवसायीले भने चोरीपैठारी गरिरहेका छन् ।

नल्लु खोला तथा आसपासका गाउँबस्तीका मानिसले नल्लु खोलामा सफा र सग्लो पानी देख्न नपाएको वर्षौं भइसक्यो । खोला क्षेत्रमा ढुंगा उत्खनन गरिएकाले नदीमा सङ्लो पानी बग्न छाडेको तीन दशकभन्दा बढी भइसक्यो । यही खोलाका पानी लगाएर खेती गरिरहेका किसान अहिले खोलाको पानीले बाली सपार्नेभन्दा पनि बिगार्ने गरेको दुःखेसो पोख्छन् ।

खोलाको पानीमा पौडी खेलेको र लुगा धोएको सम्झँदै स्थानीय दीपेश तिमल्सिना भन्छन्, ‘खानीले यहाँको सबै चक्र नै बर्बाद बनाएको छ । हामी खोलामा पौडी खेल्थ्यौं, गार्ईवस्तुलाई नदीको पानी पिउने व्यवस्था गर्थ्याैं । तर, अहिले खोलामा पानी होइन, धमिलो लेदो बग्छ ।’

वन क्षेत्रमा नै सञ्चालन भएको खानीले दैनिक खोला खोस्रिरहेको छ । यहीँबाट निस्किएका ढुंगा कुट्न क्रसर उद्योगहरू खोलैभरि खडा छन् । वन नाँगिदै गएको छ । हरेक वर्षजसो वन क्षेत्र दोहनको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै हुन्छ । तर, खन्ने काम अनवरत चालू छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.