भक्तपुर, चैत ५ : नयाँ वर्ष आउन करिब २०–२५ दिन बाँकी हुँदा उक्त अवसर पारेर भक्तपुरमा बृहत् औद्योगिक मेला लाग्ने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षको अवसरमा ‘पाँचौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला आयोजना गर्न लागेको छ ।
मेला आयोजक संस्थाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले मेला आगामी चैत २१ गतेदेखि वैशाख २ गतेसम्म हुने जानकारी दिए । घुम्न आउने सबैलाई एकै ठाउँबाट सम्पूर्ण आवश्यक सामाग्री उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसर पारेर मेला आयोजना गर्न लागेको महतले बताए । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा सञ्चालन गरिने मेलामा २ सय भन्दा बढी कक्ष रहने जानकारी दिए ।
उक्त मेलामा आम मानिसको दैनिक जीवनमा प्रयोग हुने उपभोग्य वस्तु, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा र पर्यटन प्रवर्धन गर्ने कक्ष रहनेछन् ।
सयका साथै मेला संयोजक दीपक थापाले यस वर्षको मेलामा खुला भलिबल प्रतियोगितासमेत सञ्चालन गरिने बताए । मेलामा बिक्री गरिने प्रत्येक सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकार दिए ।
मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ थापाले बताए । यस मेलामा करीब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको र मेलामा १० करोडदेखि १२ करोडको कारोवार हुने अपेक्षा गरिएको बताए।