बुटवल, भदौ ६ : भदौ १ बाट नयाँ मुलुकी संहिता लागु भएपछि बागलुङमा पहिलो पटक श्रीमानले सम्बन्ध विच्छेदको मुद्दा दिएका छन् ।आफु खुशी माइता बसेको भन्दै बागलुङ नगरपालिका वडा नं- ८ बस्ने जित बहादुर थापाले आफ्नी श्रीमतीसंग सम्वन्ध विच्छेद गरी पाउँ भनि मुद्दा दिएका हुन । संभवत: यो मुद्धा नेपालकै पहिलो हो ।
आफु खुशी माईत बसेर सम्पर्कमा नआई सताउँदै आएको उनको आरोप छ । ४ वर्ष भन्दा बढि समयदेखि कुनै जानकारी नदिई आफु खुसी माइता बसेकी र बोलाउदा पनि नआएको भन्दै थापाले बागलुङ जिल्ला अदातलमा सम्वन्ध विच्छेदकाे मुद्दा दर्ता गराएका हुन् ।
आफु हाल विदेश गएपछि माइत गएर बस्दै आएकी र नेपालमा जागीर हुदाँ पनि श्रीमतीको कारणले जागीर छाड्नु परेको उनकाे अाराेप छ । श्रीमतीले घर तथा ब्यवहार नहेरी आफुखुसी बस्दै आएकीले अन्यायमा परेकाे भन्दै सम्वन्ध विच्छेद मुद्दा दर्ता गरेको उनले बताए ।
यस अघि सिधै अदालतमा आई मुद्वा दर्ता कानूनी ब्यवस्था थिएन । मुलुकी देवानी (संहिता) २०७४ को दफा ९४ क र ख का आधारमा जित बहादुरले यो मुद्दा दर्ता गरेका हुन ।
२०७५ भदौ १ गते देखि नयाँ कानून मुलुकी संहिता ऐन, कार्यविधी, मुलुकी फौजदारी संहिता ऐन तथा कार्यविधी लागु भए पश्चात जिल्ला अदालत बागलुङमा दर्ता भएको पहिलो मुद्दा भएको जिल्ला अदालत बागलुङका न्यायाधीश प्रकाश प्रसाद पण्डितले बताए ।