सोल, साउन २२: दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आणविक निशस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।
सिंगापुरमा सम्पन्न आसियान क्षेत्रीय मञ्च (एआरएफ) का विदेश मन्त्रीहरुको सम्मेलन पश्चात जारी विज्ञप्तिमा भनिएको छ, ‘आणविक निशस्त्र कोरियाली प्रायःद्वीप स्थापना गरी दिगो शान्ति र स्थायित्व ल्याउन सबै सम्बद्ध पक्षले निरन्तर कार्य गर्नु पर्दछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आफ्नो आणविक निशस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न एवं थप आणविक र क्षेप्यास्त्र परीक्षणका कार्य नगर्न आग्रह गरेका छन्।’
मन्त्रीहरुले अप्रिल र मे महिनामा दुई कोरियाको सीमावर्ती पानमुनजोङमा उत्तर र दक्षिण कोरियाका नेताहरुको शिखर बैठक तथा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर बैठकको स्वागत गरेका छन् ।
ती शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमले कोरियाली द्वीपमा पूर्ण आणविक निरस्त्रीकरणप्रति प्रतिबद्धता जनाएका थिए । यसलाई घटनालाई सकारात्मक सन्देशका रुपमा लिइएको थियो, तर त्यसको कार्यान्वयन कहिले र कसरी हुन्छ भन्नेमा स्पष्ट थिएन ।
मानवीय सरोकार समेतका कतिपय विषयमा उत्तर कोरियालाई मद्दत गर्न केही राष्ट्रका विदेश मन्त्रीहरुले तत्परता पनि देखाएका छन् ।
यसैबीच, उत्तर कोरियाले आफूमाथि लगाइएका प्रतिबन्धहरू हटाउन अमेरिकासँग माग गरेको छ । नेता किम जोङ–उन र राष्ट्रपति डोनल्ड ट्रम्पबीचको शिखर बैठकपछि प्योङयाङले कैयौं सद्भावपूर्ण कदम चालेको भएपनि अमेरिका र अन्य राष्ट्रले कुनै कदम अघि नबढाएको उल्लेख गर्दै प्रतिबन्ध हटाउन माग गरेको हो ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भनेको छ, ‘उत्तर कोरियाले पारमाणिक परीक्षण बन्द गरेको, एउटा पारमाणविक परीक्षणकेन्द्र निष्क्रिय पारेको र कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकहरूका शवका अवशेष हस्तान्तरण गरेको छ ।’
प्रतिबन्ध फुकुवा गर्नुअघि पूर्ण रूपमा निशस्त्रीकरण गर्नुपर्ने अमेरिकी माग पूरा गर्न नसकिने पनि उत्तर कोरियाले स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले तयार पार्न लगाएको एउटा अध्ययन प्रतिवेदनले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई नरोकेको बताएको तीन दिनपछि उत्तर कोरियाको पछिल्लो भनाई बाहिर आएको हो ।
प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई ‘व्यापक रूपमा बढाएको’ र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको सो प्रतिवेदनका उल्लेख छ ।
गत साता अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद उत्तर कोरियाले नयाँ ब्यालिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेको देखिएको दाबी गरेका थिए ।
यसअघि ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गरिएको स्थानमै त्यस्तो गतिविधि जारी राखेको जासुसी भूउपग्रहबाट थाहा भएको उनीहरूले बताएका थिए ।
ट्रम्प र किमबीच गत १२ जुनमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो । भेटवार्तामा दुई नेताले कोरियाली प्रायद्वीपलाई निरस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए ।
त्यसलगत्तै आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर कोरियाबाट ‘अब पारमाणविक खतरा नरहेको’ बताएका थिए ।
तर प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धता विना सहमति गरेकोमा गत महिना उत्तर कोरियाली नेतासँगको भेटवार्तापछि ट्रम्पको आलोचना भएको थियो ।
पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई उत्तर कोरियामाथि लामो समयदेखि प्रतिबन्ध लाग्दै आएको छ ।