काठमाडौं, फागुन १९ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बढुवा भएर नयाँ जिम्मेवारमा जाने अधिकृतले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न निर्देशन दिएका छन। महानिरीक्षक खनालले आईतबार बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिन्ह लगाईदिंदा उक्त कुरा बताएका हुन।

कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा पदोन्नति भएका ६४ जना प्रहरी नायव उपरीक्षकहरुमध्ये ६० जना रहेका छन । पदोन्नति भएका ३ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छन भने १ जना व्यक्तिगत बिदामा नेपाल बाहिर रहेका छन्।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति हुने अधिकृतहरुलाई बधाई तथा शुमकामना व्यक्त गर्दै अव खटिने ठाउँमा दिइएको जिम्मेवारी अझै बढी उर्जा थपेर निर्भिकताकासाथ काम गर्न निर्देशन दिएका छन् ।
विगतका अनुभव र आफ्नो ज्ञान, सीप एवं दक्षता प्रयोग गरी संगठन निर्माणमा सक्रिय हुनुपर्ने महानिरीक्षक खनालले उल्लेख गरे । कामप्रतिको निष्ठा, लगाव र मूल्याङकन नै वृत्तिविकासको आधार हुने र यसले आत्मसम्मान, सामाजिक प्रतिष्ठा र अपनत्व बढ्नेतर्फ सबैले सोच्नुपर्ने खनालले बताए ।

समाजमा अपराध नियन्त्रणपछि मात्र सामाजिक रुपमा कार्यक्रम लग्नु राम्रो हुने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले जुनसुकै स्थानमा काम गर्दा पनि आफ्नो सीप र दक्षताको प्रयोग गरी पूर्ण महत्वका साथ काम गर्नुपर्ने उल्लेख गरे।

प्रहरी कर्मचारीहरुले आर्थिक वा अन्य कुनै पनि रुपमा गलत काम गरेमा क्षम्य नहुने भएकोले सकारात्मक सोचले अत्यन्त सचेत र सजग भई काम गर्नुपर्नेमा उनले जोड दिए । व्यक्तित्व विकास, असल सोंच, शालीनता, असल व्यवहारका साथ काम गरी संगठनलाई विश्वास दिलाउन खनालले आग्रह गरे ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक हरि खतिवडाले सांगठनिक अपेक्षा र उद्देश्यलाई पुरा गर्न अझै निर्भिक, निष्पक्ष र नागरिकमैत्री भई पूर्ण निष्ठा र इमान्दारिताका साथ आफूहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

