नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

रिपोर्ट नेपाल | 2021 Dec 24 | 07:43 am 1345

काठमाडौँ, पुस ९ः काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् । उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत दिइन् । रकम पाएपछि ती अपरिचित व्यक्ति कल्पनासँग सम्पर्कविहीन बने ।

चिट्ठाको प्रलोभनमा अपरिचितबाट ठगिएको भन्दै कल्पनाले प्रहरीलाई गुहारिन् र प्रहरीको सक्रियताले उनको बैङ्क खातामा रहेको नौ लाख भने ठगिन पाएन । विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने सन्तोष (नाम परिवर्तित)समेत यसरी ठगिएका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक केदार (नाम परिवर्तन)ले पनि झुटो सन्देशकै भरमा नचिनेका व्यक्तिलाई बैङ्कबाट एक लाख रुपियाँ पठाए ।

यी प्रतिनिधि घटनाका पीडित आफूले नभरेको च्टिठा पाउने प्रलोभनमा ठगिएका हुन् । प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले उनीहरूको उजुरीका आधारमा अनुसन्धान गरिरहेको छ । फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको दुरुपयोगबाट गत वर्ष तीन हजार नौ सयभन्दा बढी पीडित भएका छन् । साइबर ब्युरोका प्रमुख (प्रहरी नायब महानिरीक्षक) रामकृपाल साहले ठगिनेमा सामान्य व्यक्तिका साथै शिक्षितसमेत रहेको भन्दै यो क्रम बढेको जानकारी दिए।

साइबर अपराधका घटना पछिल्लो समय एकदमै बढेको तथ्याङ्कले देखाएको छ । ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ३५७ जना पीडित, आव ०७६/७७ मा दुई हजार ३०१ र ०७७/७८ मा तीन हजार ९०६ पीडितले उजुरी गरेका थिए ।

ब्युरोका उपनिर्देशक वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले अपरिचित व्यक्तिको प्रभाव र प्रलोभनका कारण साइबर अपराधका घटना दैनिक बढेको बताए । ब्युरोले सातै प्रदेशअन्तर्गतका प्रहरी कार्यालयबाट अपराध न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको हेलचेक्र्याइँ र प्रलोभनका कारण अपराधका घटना दैनिक बढ्दै गएका छन् ।

ब्युरोका अनुसार सामाजिक सञ्जालको दुरुपयोगको सिकार सबैभन्दा बढी १८ वर्षभन्दा कम उमेरका किशोरी तथा महिला हुने गरेका छन् । आव ०७५/७६ मा १० बालिकासहित १६३ महिला, आव ०७६/७७ मा ८८ बालिकासहित एक हजार महिला र आव ०७७/७८ मा २५२ बालिकासहित दुई हजार १५५ पीडित महिलाको उजुरी ब्युरोमा परेको छ ।

आव ०७८/७९ को पछिल्लो पाँच महिनामा १५ बालिकासहित १६० जना महिला सामाजिक सञ्जालबाट पीडित बनेको ब्युरोले जनाएको छ । यसरी पीडित हुनेमा किशोर तथा पुरुषसमेत रहेका भए पनि किशोरी तथा महिलाको तुलनामा कम छन् ।

साइबर अपराधविज्ञ तथा पूर्वप्रहरी नायब महानिरीक्षक विकास श्रेष्ठले प्रविधिको प्रयोग बढ्दै जाँदा अपराधका घटना बढ्दै गएको बताउँदै भने, “प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगबाट किशोर र बालिका बढी पीडित बनेको देखिन्छ । अभिभावकको निगरानी र जनचेतना आवश्यक छ ।” गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.