नदी तर्न पैसा तिर्नुपर्ने बाध्यता

रिपोर्ट नेपाल | 2020 Nov 15 | 08:44 am 1931

कञ्चनपुर, कात्तिक ३०ः जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौंदेखि दोदा नदी वारपार गर्न शुल्क तिर्नुपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ ।

लालझाडी–४ का लोकेन्द्र रानाले दशकौँदेखि आफूहरु नदीमा पुल नबन्दा रकम तिरेर नदी वारपार गर्ने गरेको दुखेसो पोखे । पहाडमा तुइन तरे झैँ हामीले पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता छ, उनले भने, ट्युबमा मोटरसाइकलसहित वारपार गर्नु पर्दा एक पटकको २ सय तिनुपर्छ ।

लोकेन्द्र जस्तै लालझाडीका प्रायः स्थानीयवासीले हिउँदमा यही समस्या भोग्नुपरेको छ तर राज्यको यसतर्फ ध्यान पुगेको छैन । हिउँदमा नदीमा पानी कम हुन्छ, पानी कम भए पनि  २ सय  तिरेर त जान सकिन्छ, रानाले भने, बर्खामा त बाढीले आवागमन नै ठप्प हुन्छ ।

यहाँको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्ड अन्तर्गत दोदा नदीमा पक्की पुलको निमार्णमा भइरहेको ढिलासुस्तीका कारण झन समस्या भएको स्थानीयवासीको गुनासो छ । बन्दाबन्दीले दैनिकी उत्तिकै अस्तव्यस्त बनेको छ, रानाले भने, मजदुरीका लागि घर छोड्न लाग्दा पनि शुल्क तिनुपर्ने अवस्था आउँछ ।

दोदा नदीमा वारपार गर्न साइकलको २० र मोटरसाइकलको २०० तिर्नुपर्छ । गाउँपालिकाको पहुँच सार्वजनिक यातायातसित अझै जोडिएको छैन । स्थानीय रामसाहेब रानाले गाउँमा बिरामी परेर एम्बुलेन्स बोलाउनु पर्दा निकै हैरानी हुने गरेको बताए । रातिको समयमा कसैलाई अस्पताल लैजानु पर्यो भने निकै समस्या हुन्छ, उनले भने, सडक सञ्जाल र पुलहरु नबन्दा पैसा तिरेर पनि सुविधा पाइरहेका छैनौँ ।

त्यसैगरी लालझाडी–४ का भजना राना पनि बर्खामा आवागमन नै बन्द हुने गरेको बताउछन् । नदी वारपार गर्ने क्रममा विगतमा दुई तीन स्थानीयवासीले ज्यानसमेत गुमाइसके, उनले भने, वारि घर पारी खेत हुनेको पनि समस्या नै छ ।

ट्युबमार्फत नदी तार्ने छेउमै निर्माणाधीन पक्की पुल अलपत्र छ । स्थानीय युवाले ट्युब सञ्चालनमा ल्याएर नदी तार्ने काम गर्दै आएका छन् । पक्की पुलको तीन पिलर मात्रै निर्माण भएको तर निमार्ण कार्य भने अझै अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि २०७२ पुसमा २४ करोड ५३ लाखमा निर्माण सम्झौता भए पनि पुलको आधा काम पनि भएको छैन । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.