स्याङ्जा, साउन १२: किसानलाई वालिङ नगरपालिकाले ६२ वटा उन्नत जातको मुर्रा माउ भैँसी उपलब्ध गराएको छ। व्यावसायिक दूध उत्पादन गर्ने उदेश्यले ३ वटा वडाका भैंसीपालक किसानलाई ५० प्रतिशत अनुदानमा भैंसी प्रदान गरिएको हो।
किसानका मागका आधारमा वडा छनोट गरी माउ भैँसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी गराए। उनले भने, ‘नगरलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैँसी प्रवर्धन गरेका हौं।’
भैँसी प्रवर्धन कार्यक्रम अन्तर्गत किसानका माग अनुसार वडा नं ९, १३ र १४ का ३३ जना किसानलाई नगरपालिकाको लागत साझेदारीमा भैँसी प्रदान गरिएको
पालिकाले जनाएको छ।
पशु सेवा शाखाको २६ लाख ४५ हजार र किसानको ५० प्रतिशत लागत साझेदारी अन्तरगत ५३ लाख रुपैंया बजेटमा भैंसी उपलब्ध गराइएको हो। उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारी अन्तर्गतको हो।
भैसीपालक किसानका लागि समयानुसार तालिम, घाँस तथा तथा उपकरण पनि सहयोग गरिए पशु शाखाका प्रमुख डा वसन्तकुमार अधिकारीले बताए। उनले भने ‘किसानले भैसी पाल्न सक्ने क्षमता अनुरुप एउटा किसानले एउटा र २ वटासम्म भैंसी माग गरे।’