काठमाडौं, भदौ २७ः नक्कली पेस्तोल देखाई लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौं हाडीगाउँ बस्ने ४१ वर्षीय बालसुन्दर सापकोट र ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।
उनीहरुले हिजो आइतबार दिउँसो काठमाडौं महानगरपालिका वडा नं. ३१ मा रहेको कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठले संचालन गरेको एसके मोबाइल पसलमा सापकोटा सहित २ जना व्यक्तिहरुले अनलाइन मार्फत मोबाइल किन्छु भनि बहाना बनाई पसलमा गई हामी प्रहरी हौं भनि नक्कली पेस्तोल देखाई ३ थान आइफोन सेट लुटपाट गरेका थिए ।
उक्त घटनाको अनुसन्धानको सिलसिलामा अपराध अनुसन्धान कार्यालयबाट खटि गएको टोलीले हिजै बेलुकीको समयमा मन्दिर नजिकैबाट लुटपाट गरी लगेको मोबाइल ३ थान र सो कार्यमा प्रयोग भएको नक्कली पेस्तोल २ थान र गोली ५ थान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हाे ।
पक्राउ गरी उनीहरुलाई डाँका कसुरमा आवश्यक कानुनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।