नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

रिपोर्ट नेपाल | 2018 May 25 | 02:36 am 5047

विराटनगर, जेठ ११: किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।

भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ ।

विभिन्न नक्कली कागजपत्र तयार गरी वडा कार्यालयका अध्यक्ष र सचिवलाई झुक्काएर उनले राज मियाँको नामबाट नागरिकता प्रमाणपत्रका लागि सिफारिस गराई नागरिकता लिएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङमा रंगेली नगरपालिका वडा नं– ८ का अध्यक्ष टंक आचार्यले लिखित रुपमा कारबाहीका लागि माग गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भारत कुर्सकुट्टा डोवाबडी १३ घर भई रंगेली नगरपालिका–८, दर्बेसामा रहेको ठूलोबुबाको घरमा बस्दै आएका हुसैनले राज मियाँको नामबाट नागरिकता झुक्काएर लिएको उजुरी पत्रमा उल्लेख छ ।

हुसैनले आफ्नो जन्ममिति २०५४ साल भदौ २३ गते उल्लेख गरेका छन् । हुसैनले आफ्नो नागरिकतामा आफ्नो ठूलोबुबाको छोरा आनाबारुल मियाँलाई बाबु बनाएर नागरिकता सिफारिस झुक्काएर गराएको सम्बन्धमा विशेष सूचनाका आधारमा अध्यक्ष आचार्यले दुई हप्ता अगाडि जिल्ला प्रशासन कार्यालय मोरङमा कारबाहीको लागि निवेदन दिएका हुन् ।

नेपाली नागरिक हो कि होइन भन्ने विषयमा स्थानीयवासीबाट सर्जमिन मुचुल्का बनाएपछि मात्र आफूले सिफारिस गरेको पनि उनले बताए ।

उनले नागरिकता सिफारिश कार्यमा आफूले कुनै गल्ती नगरेको जवाफ दिँदै सक्कली नागरिकतासहित जिल्ला प्रशासन कार्यालयमा कारबाहीको लागि उजुरी दिएको स्पष्ट गरे ।

हाल झुक्काएर नागरिकता लिने मियाँ इलाका प्रहरी कार्यालय रंगेलीमा मानव बेचबिखन र नक्कली नागरिकता मुद्दामा थुनामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.