नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 25 | 08:02 am 4317

खोटाङ, असार ११: अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन्।

२०६३ सालमा बनेको क्षत्रीको ९१९६ नम्बर उल्लेख भएको नागरिकता अर्कै व्यक्तिको नाममा रहेको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए।

पक्राउ परेका क्षेत्रीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। क्षेत्रीले जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको र नागरिकता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर नै नभएको नागरिकताको फोटोकपी पेश गरेर प्रतिलिपि लिन खोजेको पाइएको छ।

साविकको ज्यामिरे गाविस–९ ठेगाना भएको नागरिकताको फोटोकपीमा क्षेत्रीको जन्म मिति २०४२ साल असोज २३ गते तथा बाबुको नाम रामप्रसाद क्षेत्री उल्लेख रहेको प्रशासनले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.