नकवजनी चोरी मुद्दामा फरार व्यक्ति १८ बर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 23 | 09:59 pm 2716

तनहुँ, भदौ ७ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा नकवजनी चोरी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ काहुँशिवपुर गाविस २ हाल रिसिङ गाउँपालिका वडा नं १ गैराखुदीका ३८ वर्षीय पुर्ण बहादुर आले रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०५९ बैशाख १६ गतेको फैसलामा तोकिएको कैद तथा जरिवाना मध्ये २ बर्ष ७ महिना २१ दिन कैद ८ हजार २ सय ५० रूपैयां जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।

उनको खोजतालस गर्ने क्रममा मिति २०७७ भदौ ६ गते घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँमा पठाएको बताइएको छ ।

त्यसैगरी डाँका चोरी मुद्दामा फरार अभियुक्त २० बर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा तनहुँ काहुँशिवपुर गाविस ४ हाल रिसिङ गाउँपालिका वडा नं २ केउरानीका ७६ वर्षीय खेमलाल आले रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०५७ भदौ १४ गतेको फैसला उपर तोकिएको कैद तथा जरिवाना मध्ये ३ बर्ष कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।

खेमलाल आलेको खोजतालस गर्ने क्रममा मिति २०७७ भदौ ६ गते राती घरमै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएका छ ।

पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँमा पठाएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.