धुलो धेरै खाइयो बाटो बनाइदेऊ : मतदाता

रिपोर्ट नेपाल | 2022 Nov 08 | 07:30 am 1137

कास्की, कात्तिक २२ः सत्तारुढ गठबन्धन र नेकपा एमालेले यति बेला घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । कास्कीमा एमाले अघिअघि गठबन्धन पछिपछि घरदैलोमा पुग्ने गरेका छन् ।

सोही क्रममा पोखरा महानगरपालिका–१६ मा एमाले कास्की क्षेत्र २ (ख) का उम्मेदवार मीना गुरुङ कार्यकर्तासहित तामझामका साथ केआईसिंह पुलदेखि घरदैलो शुरू गर्दै सो क्षेत्रमा पुगिन् । आइतबार गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार बिन्दुकुमार थापाले पनि गटबन्धनका कार्यकर्ताका साथ केआईसिंह पुलबाटै घरदैलो अभियान शुरू गरे ।

मतदातासँग गफिँदै मत माग्दै जाँदा सुन्दुरफिटदेखि गोर्खा बोर्डिङ विद्यालय जाने सडकमा मत माग्न जाँदा स्थानीयमा भने खुसी देखिएन । आफूले पाएको चुनावी घोषणापत्र हेर्दै स्थानीयले असन्तुष्ट व्यक्त गरिरहेका थिए । स्थानीय युवा सौरभ गुरुङले गफिँदै भने– ‘यिनीहरूले केही गर्दैनन् । यो घोषणापत्रको कामै छैन । ठूला सपना देखाएर के गर्ने यसरी धुलो खाएर बस्न बाध्य भएका छौं ।’ त्यसैमा आफ्नो तर्क मिलाउँदै अनिल गुरुले थपे– ‘कांग्रेस आए पनि उही हो एमाले आए पनि उही हो आखिर हाम्रो बाटो बनेन क्यारे ।’

ठेकेदारको लापरवबाहीका कारण आम सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । लामो समयदेखि सडक अलपत्र छाडिदिँदा दैनिक रूपमा दुईपाङ्ग्रे सवारी त्यहाँ लड्ने व्यवसायी लक्ष्मी बाँस्तोलाले बताइन् । उजले भनिज्– ‘समस्या धेरै छन् । दिनको एउटा दुईटा दुर्घटना भएकै हुन्छन् । बाइक स्कुटर लडेको लड्यै हुन्छ । बर्खामा हिलो, हिउँदमा धुलोले अति गरेको छ ।’ आफूहरू सडक विभागमा पटक-पटक धाउँदा एक हप्ता, दुई हप्ता भन्दाभन्दै १४ महिनासम्म पनि सडक नबनेको उनको भनाइ थियो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.