धारामा पानी आउँछ भनेर कुर्न थालेको आठ महिना भयाे

| 2022 Nov 05 | 03:52 pm 1221

बझाङ, कात्तिक १९ः खप्तडछान्ना गाउँपालिका-५ मतुवाकी शर्मिला उपाध्यायलाई जहिल्यै पानीको चिन्ता हुन्छ। नजिकै कुवाको पानी वा टाढाको धाराबाट पानी बोकेर दैनिकी चलाउनु उनको नियति जस्तै हो।

उपाध्यायलाई गत चैतमा भने लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्नेमा आशा पलायो। टोलमै नयाँ खानेपानीको धारा बनेपछि पानीका लागि दुःख गर्नु नपर्ने भन्दै टोलवासीमै खुशियाली छायो। धारा त जडान भयो तर अहिलेसम्म पानी आएको छैन।

‘धारामा पानी आउँछ भनेर कुर्न थालेको आठ महिना भइसक्यो’, उपाध्यायले भने, ‘यहाँ न पानी आयो, न प्लम्बर (पानीको धारा बनाउने व्यक्ति) टोली नै आए। हामी फेरि कुवाकै भर पर्नु परेको छ।’

शर्मिलाको समस्या गाउँवासीकै समस्या हो। ‘पानी नआउँदै धारा पुराना हुने भए’, सोही ठाउँकी सविता उपाध्यायले भने, ‘भोलि/पर्सी नै आउँछ भनेको पानी आठ/नौ महिना बित्दा पनि आउने सुरसारै छैन।’ उनका अनुसार धारा निर्माण गर्ने उपभोक्ता समितिले धारामा पानी छिट्टै आउने आश्वासन मात्रै दिइरहेको छ।

उपाध्यायका अनुसार अहिले गाउँमा भएको पुरानो धाराबाट पनि निकै कम पानी आउँछ। ‘खाना पकाउन लागि एक गाग्री पानी भर्न पनि एक घण्टा नै कुर्नुपर्छ। कहिलेकाहीँ त दिउँसो पानी भर्न घुइँचो लाग्ने हुँदा राति भर्नुपर्छ’, उनले दुखेसो पाेखे।

गाउँमा दिनहुँ खानेपानीको समस्या हुनुमा उपभोक्ताको लापरबाही कारक भएको खप्तडछान्ना गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर सिंहको भनाइ छ।  ‘बाहिरको ठेकेदार भए त टाढा हुन्थ्यो। गाउँमै बस्ने उपभोक्ता समितिका पदाधिकारीले गाउँकै समस्यालाई बेवास्ता गर्नु भनेको ठूलो लापरवाही हो’, उनले भने।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष विक्रम सिंहले भने पानीको ट्याङ्की, पाइप बिछ्याउने काम सकिएको र छिट्टै धारामा पानी आउने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.