विवेक अर्याल धादिङ, जेठ ३१ः जिल्लाको नीलकण्ठ नगरपालिकाका २३ जनामा शनिबार कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँका डाइरेक्टर डा. सागरराज भण्डारीका अनुसार संक्रमित मध्ये ५ जना महिला र १८ जना पुरुष गरी २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमितहरु सबै भारतबाट आई नीलकण्ठ नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।
क्वारेन्टिनमा रहेकाहरुको आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको गत जेठ २९ गते स्बाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा गरिएको परिक्षणमा रिपोट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै धादिङमा संक्रमितको संख्या ८८ पुगेको छ । संक्रमित देखिएका मध्ये तीन जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् ।