धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु

रिपोर्ट नेपाल | 2019 Sep 04 | 04:19 pm 1624

काठमाडौं, भदौं १८ : हिन्दूधर्मका गुरुहरुले सबै धर्मको सार समानता र भातृभाव रहेको बताएका छन् । उनीहरुले सनातनदेखि चल्दै आएको हिन्दूधर्म तथा परम्पराको संरक्षणका लागि सरकार तथा जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिए ।

विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आज आयोजना गरेको गौहत्या एवं बागमती गङ्गा आरतीमाथिको हस्तक्षेपका विरुद्धको पत्रकार सम्मेलनमा उनीहरुले धर्म तथा संस्कृतिले नै नेपालको पहिचान गर्दै आएको बताउँदै हालैका दिनमा हिन्दूधर्माबलम्बीहरुले माताको रुपमा सम्मान गर्दै आएको गाईलाई भीरबाट खसालेर मार्ने प्रवृित्त बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनीहरुले पशुपतिमा आरती हुनु अघि राष्ट्रिय गान बजाउन नहुनेमा पनि जोड दिए । पूर्वमन्त्री दिनबन्धु अर्यालले नेपालमा हिन्दूधर्मालम्बीले आमाको रुपमा पुज्दै आएको गाईको संरक्षण हुनुपर्ने बताउँदै ती गाई मार्नेलाई हदैसम्मको कारवाही हुनुपर्ने विचार राखे ।

भागवत वाचिका अनुराधा शास्त्री, राष्ट्रिय धर्म जागरण अभियानका संरक्षक शङ्करप्रसाद पाण्डे, जगदगुरु आश्रमका प्रवक्ता विक्रमसिंह धामी, विश्व हिन्दू महासङ्घका महासचिव गणेशप्रसाद न्यौपाने, समितिका अध्यक्ष सागर थापा, विश्व हिन्दू पुनःजागरणका अध्यक्ष शरदचन्द्र दाहाल, श्री १००८ स्वामी पदमाधराचार्य महाराजलगायतका वक्ताले हिन्दूधर्मको महत्व तथा देशमा सनातन धर्मको समाजमा प्रभाव तथा गाईको महत्वमाथि प्रकाश पारेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.