काठमाडौं, वैशाख ६ : धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले केन्द्रीय सदस्य रेवती कार्की, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने, विद्यार्थी संगठनका अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक संगठनका उपाध्यक्ष मणि शिंखडा, कोषाध्यक्ष गुणराज राजभण्डारीलगायतलाई पक्राउ गरेको पार्टी प्रभार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरु सहभागी थिए । यसअघि कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताएका थिए ।
। ‘धर्म निरपेक्षताको कुरा जनआन्दोलनमा पनि ननिस्केको तर विदेशीको इशारामा नेपाल धर्म निरपेक्षता लादिएको हो’ थापाको आरोप छ ।
राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएसँगै राप्रपा लगातार संघर्षमा छ ।