काठमाडौं, पुस ८ : नेपाली कांग्रेसका युवा नेता गगन थापा धर्मका नाममा खोलिएका ‘दोकान’ बन्द गर्न कांग्रेस लाग्नुपर्ने बताएका छन्। उनले भने, ‘सनातन धर्म जोगाउने, धर्म परिवर्तन गर्न नपाउने, धार्मिक अल्पसंख्यको सुरक्षा हुनुपर्छ भन्ने मान्यतामा हामी उभिन्छौं। कांग्रेसले अब अन्य धार्मिक दोकान बन्द अभियानमा लाग्नुपर्छ।’
उनले नेपाली कांग्रेसले हिन्दुत्वलाई परिचय नबनाए पनि सनातन धर्म जोगाउने विषयलाई अगाडी बढाउनुपर्ने बताएका छन्। ‘पछिल्लो समय सनातन धर्मविरुद्धको विषय सरकारसँग जोडिएर आएका कारणले अब कांग्रेसले त्यस विषयलाई पनि आफ्नो बनाउनुपर्छ भन्ने मान्यता म राख्छु’,उनले भने, ‘महासमितिमा धर्मको विषय छलफल भएको उपयुक्त हुन्छ ।’
कांग्रेस सबैतिर सुतेको अवस्थामा रहेकाले महासमिति बैठकपछि सक्रिय बन्ने र बनाउने कुरामा नै छलफल अघि बढिरहेको उनले बताए । सबैभन्दा पहिला संघीय ढाँचामा गएपछि प्रतिपक्षीको प्रभावकारीता प्रदेश र संघमा देखिने उनको तर्क छ ।
पार्टीमा युवा नेतृत्व ल्याउनका लागि आउने महाधिवेशनले प्रयास गर्ने बताएका उनले कयौं पटक यस्ता प्रस्ताव आफूले राखेको बताए ।