धन्य मेरो देशका नेता र सिआईबि

| 2023 Aug 24 | 12:56 pm 3941

– दुर्गादेवी मगर

हो कुरा सुन्दा ठट्ठा गरे झैं लाग्ने तर प्रमाण पेश गर्ने झैं गरी बोलिएका केही अनौठो प्रसंगले अरु सबैलाई झसंङ्ग पार्न सक्छ तर मलाई भने थप तरंङ्गित समेत बनायो । कुरा आफ्नै देशको – प्रवक्ता देशकै ठूला भनाउँदाहरु सांसदमा पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले स्पष्ट शब्दमा नेपालमा भैरहेको सुन तस्करीमा नेपाल प्रहरीका उच्च पदस्थ तथा पूर्व आइजिपिहरु समेत संलग्न रहेको र नेपाल सरकारका महत्वपूर्ण विभागका महानिर्देशक समेतको संलग्नताको प्रमाण आफुसँग रहेको सार्वजनिक गरे ।

आफु पत्रकार हुँदा स्पष्ट बोल्ने र गलत गर्नेको नाकको डाँडी भाच्नेसम्मका भनाइ राख्न नहिच्किचाउने, कडा मिजास र स्वभाव देखाउन खप्पिस यिनै लामिछाने त्यस्ता भ्रष्ट तस्करहरुको नाम लिन किन आँट गरेनन् त्यो भने निकै रहस्यमय नै छ । जसरी ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मिन बहादुर गुरुङ्गलाई थुनामा राखिएका बारे प्रधानमन्त्री प्रचण्डको आर्थिक लेनदेनसँग जोडेको प्रसंग रहस्यमय मानिन्छ । आफुलाई निकै योद्धा निडर स्पष्टवक्ता भन्ने लामिछानेले छोटो समयमा नै आफ्नो त्यो साखलाई बचाउन सकेको महसुस भएको छैन – चाहे उनको नागरिकताको सवालमा होस वा गृहमन्त्री हुनासाथ टेन्डरको बिषय । सार्वजनिक जीवन व्यतित गर्नु त्यति सजिलो कहाँ रहेछ र ? आफ्ना हरेक गतिबिधिले आफैंलाई पछयाईरहेको यथार्थलाई आत्मसात नगर्ने हो भने त्यहीनै आफ्नो अधोगतिको सुरुवात हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । आशा गरौं यिनले पत्रकारकै स्वभावमा आफुलाई फेरी प्रस्तुत गर्न सफल हुनेछन् ।

मुलुकमा छाडापन कुन हदसम्म पुगेछ, अनुशासन नामको कुनै बस्तु पनि समाजमा हुन्छ कि भनि टर्च बालेर खोज्नु पर्ने बेला आईसकेछ । एउटा टिकटकमा देखें – सदाबहार बोलिरहने स्वनाम धन्य सर्वज्ञाता दुर्गा प्रसाईको आपत्तिजनक भनाई । त्यो भनाई सत्य साबित नहोस् भन्ने कामना गर्नै पर्ने हुन्छ एउटा नेपाली नागरिकको नाताले । भरखरै हेरेको टिकटकमा उनको भनाई नेपालका सबै राजनेता र उनका परिवारका बारेमा नै त थियो – उनले पुर्वप्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई भ्रष्टाचार र तस्करीको श्रीपेचनै लगाई दिंदै महिला बेचबिखन गरेकोसम्म भन्न भ्याए भने – नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई भ्रष्टाचारको महानायक बनाए । अन्य कुरा त पटक पटक भन्दै आएकै हुन् – गिरीबन्धु टि स्टेट समेत बिक्री गर्न पाउने गरी ऐन संसोधन गर्दा दिपक मल्होत्रा साक्षी राखी उनले एक अरब रुपैंयाको साथै ३० बिघा जग्गा गिरीबन्धुसँग लिने शर्त राखेका थिए रे । एमालेको महाअधिबेशन हुँदा १७ करोड उनै दिपक मल्होत्रा मार्फत केपी शर्मा ओलीलाई दिएका थिए रे । टि स्टेट बिक्री गर्ने बिषयमा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा पनि संलग्न थिए रे । यसैगरी यिनै प्रसाईले पुर्वप्रधानमन्त्री माधब कुमार नेपाललाई पनि अत्यन्त भ्रष्टकै सुचीमा प्रस्तुत गरेको देखिन्छ ।

अब प्रश्न आयो – दुर्गा प्रसाईको भनाईको सत्यता जाँच गर्नु पर्ने बिषय । यदि यो कुरा साँचो होइन भने के देशको सबैभन्दा ठुला राजनीतिक पार्टीका सर्वोच्च नेताहरुको बारेमा यति तल्लो स्तरको भनाई सार्वजनिक भईरहँदा सरकारले तत्कालै उनी माथी कारवाही गर्नु पर्यो । यदि उनको भनाई स्वीकार गरेर बसे त “मौनम सम्मती लक्षणम्” भन्ने ठानी देशवासीले भन्नुपर्ने अवस्था आउने भयो । यो अवस्था आएमा ३ करोड नेपालीको साझा रुपमा रहेको देश नेपाललाई आफ्नो इमान्दारीता र राष्ट्रिय सम्मान बचाउनकै लागि भए पनि सरकार र संलग्न पार्टीले केहि नगरे जनताले नै गंभिरतापुर्वक उचित निर्णय लिनुपर्ने अवस्था आउन सक्छ । निश्चयनै यो खेलबाड रमाईलोको लागि गरिने विषय होईन । प्रायः हरेक उच्च नेताहरुको बारेमा दुर्गा प्रसाई र यस्तै अरुले बोल्दै जाने हो भने बिदेशी सामु हामी नेपालीले सधैं शिर निहुर्याउनु पर्ने अवस्था आईरहने भयो ।

यसबाट उन्मुक्ति पाउन या त यी अहिलेका सम्पुर्ण ठुला पार्टीका उच्च नेताहरु शेर बहादुर देउवा, प्रचन्ड, केपी शर्मा ओली, माधब कुमार नेपाल लगायत राष्ट्रलाई कंगाल बनाई भ्रष्टाचारमा चुर्लुम्म डुबेर जनताको रगत पिउन पनि अप्ठयारो नमान्ने माथी नै निर्ममतापुर्वक प्रहार हुन पर्यो, हैन भने यिनले राज्यलाई खेलौनाको रुपमा सधैं आफुखुशी सञ्चालन गर्न पाउनु भएन । अहिलेको चर्चित घटना र ति घटनामा प्रयोग भएका बिधि नै हेरौं त । नक्कली भुटानी शरणार्थी केसमा भएको कारवाही र यसको अन्त्य, सुन तस्करीको बिषय, ललिता निवास जग्गा प्रकरणको बिषय । सिआईबि प्रमुख किरण बर्जचार्यको ललिता निवास जग्गा प्रकरणमा साक्षीको नाममा माधब कुमार नेपाल र बाबुराम भट्टराईसँगको जानकारी आदान प्रदान तथा तत्पश्चात सिआईबि प्रमुखको भनाई – मजाकको पनि हद हुन्छ नि – पुर्व प्रधानमन्त्रीद्वय माधब कुमार नेपाल र बाबुराम भट्टराईलाई साक्षी राखेपछि ललिता निवासमा उनीहरुले गरेको अनुसन्धान सफल भयो रे । योजना बनाउने माधब कुमार नेपाल, आदेश गर्ने उनै, निर्देशन दिने उनै, निर्णय गर्ने उनै, प्रयोग गर्ने उनै, अनि अन्त्यमा साक्षी हुने पनि उनै । यस्तो मजाक त भट्टीमा रात बिताउने जड्याँहाले पनि गर्दैनन् होला । यिनको नैतिकता हेरौ त ! कसरी साक्षी बस्न सकेका यी निर्णयकर्ता र कसरी साक्षी राख्न सकेकी सिआईबि प्रमुख बर्जाचार्यले उनीहरुकै घरमा पुगेर । धन्य हो मेरो देश ! धन्य हो मेरो देशका नेताहरु ! संसदमा रवि लामिछाने र ज्ञानेन्द्र शाहीले भनेको कुरा पनि सहजै पचाउने, मिडियामा आएको कुरा पनि पचाउने, नागरिक समाजले जति भने पनि कान थुनेर नसुने झैं गर्ने, अब हाम्रा नेताहरुलाई के भनेर सम्झाउने, कस्ले सम्झाउने, कसरी सम्झाउने ? के यो ब्यवस्था, यो देश भनेको यिनीहरुकै क्रिडाभुमी हो ?

पहिले पनि पटक पटक मुलुकको महत्वपुर्ण जिम्मेवारीमा रहेका पदाधिकारीहरुबाट लज्जास्पद काम कारवाही नभएका होईनन् । घाम जत्तिकै छर्लङ्ग भएका भ्रष्टाचारका केसहरु पनि नेताहरुले पचाएर कारवाही गर्न नदिएका थुप्रै उदाहरणहरु छन् तर तिनलाई माथ गर्ने गरी यसपाली नेपाल प्रहरीको सिआईबिबाट जुन नाङ्गो तरिकाको प्रदर्शन भयो त्यसले जनतामा नैराश्यता मात्र थपेन – बुद्धिजिवि, नागरिक समाज, मिडिया लगायतका राष्ट्रलाई माया गर्ने नेपालीहरुमानै बिद्रोहको भावना समेत देखिन थालेको जताततै महसुस हुन पुगेको छ । यस्ले अहिले भईरहेका भ्रष्टाचार काण्डहरु, ति काण्डमा अपानाईएका अनुसन्धानका बिधि, पद्धति र बिभेद तथा गैरकानुनी काम कारवाहीप्रति जनताको आक्रोश टड्कारो रुपमा देखिन थालिसकेको छ । यिनै बिधि र पद्धति अनुसार काम कारवाही हुँदै गएमा त्यसले मुलुकमा निश्चयनै नकारात्मक सन्देश दिने मात्र हैन एउटा नकारात्मक नतिजामा नै पुग्न समेत बल मिल्ने अवस्था श्रृजना हुन सक्छ भन्ने कुरा जिम्मेबारीमा बस्ने सबैले समयमै सोचुन भन्ने शुभकामना सहित ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.