धनगढीमा निषेधाज्ञा

| 2022 Dec 02 | 07:28 am 1765

धनगढी, मङ्सिर १६ः ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धनगढीमा उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले बिहीबार बेलुका ७ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो ।

पूर्वमा धनगढी–१ को पुरानो फूलबारी बसपार्क, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा वडा नं. १, २ स्थित हुलाकी राजमार्गमा निषेधाज्ञा जारी गरिएको छ ।

बिहीबार हसनपुरको पीपलचौतारामा सडक निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिँदा पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा १४ वर्षीया चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो । छात्राको ज्यान गएपछि सो विद्यालयका विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै दिनभर धनगढीमा प्रदर्शन गरेका छन् ।

विद्यार्थीको ज्यान गएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरेर जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षणका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम प्रमुख जिल्ला अधिकारी किरण थापाले निषेधाज्ञा जारी गरेका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.