धनगढीमा निशेधाज्ञा तोड्दै विद्यार्थीद्वारा प्रदर्शन

| 2022 Dec 02 | 12:02 pm 1153

कैलाली, मंसिर १६ः पंचोदय मावि मा कक्षा ८ मा अध्ययनरत १५ बर्षिया चेतना साउंदको विद्यालय जाँदा ग्रेडरले किचेर ज्यान गएको घटनालाई लिएर जिल्ला प्रशासनले लगाएको निशेधाज्ञालाई बेवास्था गर्दै विद्यार्थीले बिहानै देखि धनगढीमा प्रदर्शन गरिरहेका छन्। विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको  छ। केहि विद्यार्थीलाई प्रहरीले निर्घात कुटपिट गरेर धरपकड समेत गरेको छ।

आफ्नो सहपाठीको ज्यान गएकोमा न्यायका लागि प्रदर्शन गरिरहेका १६ बर्ष मुनिका कलिला विद्यार्थीमाथि प्रहरीले संयमता नअपनाई बल प्रयोग गरेर स्थितीलाई थप भड्काउने कार्य गरेको भन्दै प्रहरी प्रशासनको स्थानीयले आलोचना गरेका छन्। विद्यार्थीमाथि लाठी चार्ज गर्दै केही विद्यार्थीलाई कुटपिट गर्दै धरपकड गरेपछि समाजिक संजालमा ब्यापक आलोचना भइरहेको छ।

ग्रेडरको ठक्करले ढलेकी साउंदलाई चालकले ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएपछि विद्यार्थी आक्रोशित भएर बिरोध प्रदर्शनमा उत्रेका थिए। प्रहरीले बिहिबार नै विद्यार्थी बल प्रयोग गर्ने, धरपकड गर्ने गरेपछी प्रहरीको व्यवहारले विद्यार्थी थप आक्रोशित भएका थिए। स्थिति तनाबग्रस्त बनेपछी जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म २४ घण्टा धनगढीमा निषेधाज्ञा आदेश जारी गरेको थियो।

पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलवारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी उपमहानगरपालिका–४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन, दक्षिणमा धनगढी उपमहानगरपालिका–१ र २ स्थित हुलाकी राजमार्ग सम्म निशेधाज्ञा जारी गरेको हो। यहाँका विद्यालय बन्द छन् भने बजारक्षेत्रका पसल बन्द छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.