धनगढीकाे एक हाेटलमा विस्फाेट, विस्फाेटमा पाँच जना घाइते

रिपोर्ट नेपाल | 2019 Jul 19 | 06:48 am 1757

कैलाली, साउन ३:  धनगढीस्थित निलम होटलमा बिहीबार साँझ विस्फोट भयो । उक्त विस्फोटमा पाँच जना घाइते भए । घाइते पाँचै जनाको धनगढीस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

उक्तस्थानमा स्टिल कन्‍टेनर'(टिफिन बक्सजस्तो बीचमा प्वाल पारेर विस्फोट गराउन प्रयोग गरिने) बम विस्फोट भएको कैलालीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बाह्रखरीलाई जानकारी दिए । घटनास्थलबाट नाइन एमएमको पस्तोलसमेत प्रहरीले बरामद गरेको छ ।

घाइतेमध्ये दुई जना विप्लव समूहकै भएको पुष्टि भएको छ । घाइते लक्ष्मण सेराला र राम सिंह दुबैजना विप्लव समूहका कञ्‍चनपुर जिल्ला सदस्य रहेको समेत खुलेको छ ।   घाइते हुनेहरूमा राम सिँह- बझाङ (विप्लब समूह),लक्ष्मण सेरला – बेलौरी ५ कन्चनपुर (विप्लब समूह),मोबिन खान (ठेगाना नखुलेको), जितेन्द्र यादव ( धनगढी ४ बोराडाँडी), केशवराज पाण्डे – होटल मालिक रहेको प्रहरीले जानकारी दिए  ।

स्रोतका अनुसार उनीहरुले उक्त बम पहाडतिर लैजाने तयारी गरेका थिए । पहाड जानका लागि तयार भएका र खाना खान उक्त होटलमा छिरेका थिए । दुईजनामध्ये एकजनाले झोला भिरेका थिए । उक्त झोलामा भएको बम प्राविधिक त्रुटीवश पड्किएको जनाइएको छ ।

घाइते दुबै जना पूर्व जनमुक्ति सेनाका लडाकु रहेकोसमेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गिरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.