दोषी पत्ता लगाउन काँग्रेसले दवाब दिँदै आएकोः प्रवक्ता शर्माको दाबी

रिपोर्ट नेपाल | 2019 Jan 21 | 03:23 pm 2107

कञ्चनपुर, माघ ७ :  कञ्चनपुरको १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दवाब दिँदैं आएको नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

प्रवक्ता शर्माले आज सोमबार भिमदत्तनगरपालिका–२ स्थित निर्मलाको घर पुगेर उक्त प्रकरण काङ्ग्रेसले संसदमा उठाउँदै आएको बताए । “निर्मला प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सदन र सडकबाटै शसक्तरूपमा अघि बढ्छ” शर्माले भने, “घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट अनुसन्धान थाल्नुपर्छ ।” भेटमा निर्मलाकी आमा दुर्गादेवीले सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरे।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वर्तमान सरकार जनताको जनजीविकासँग गम्भीर नभएको आरोप लगाएका छन् । दुईतिहाइ बहुमतको सरकारका पालामा देशमा अशान्ति, महङ्गी तथा भ्रष्टाचार निकै बढेको पनि बताए।

देशमा हत्या, हिंसा तथा बलात्कारका घट्ना दिनप्रतिदिन घट्नुको सट्टा बढिरहेको बताउनुहुँदै नेता शर्माले भने, “बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउनेमा विश्वासै छैन ।” साथै जनताका दैनिक उपभोग्य वस्तुमा मूल्य आकासिँदासमेत सरकार त्यसतर्फ उदासीन बनेको बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रवक्ता शर्माले डाक्टर गोविन्द केसीको आन्दोलनका सम्बन्धमा सरकारले आफैँले गरेको सम्झौता लत्याएको आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.