दोलखामा बस दुर्घटना दुईको मृत्यु, २३ घाइते

रिपोर्ट नेपाल | 2019 Mar 15 | 10:28 am 2970

दोलखा, चैत १ : जिल्लाको विगु गाउँपालिका वडा नम्बर–१ को नयाँ बाटोमा आज (शुक्रबार) बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजार भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए ।

उक्त दुर्घटनामा परी २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए । घाइतेको दोलखाको सिंगटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाए ।

बा ४ ख ४५७३ नम्बरको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार लिएर गएको प्रहरीले जानकारी दिए ।

आज बिहान छ्योत्छ्योतस्थित चिनियाँ क्याम्पबाट करीब ३० कामदार लिएर छुटेको बस माथिल्लो तामाकोशी आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटो लुप सेभेन (सात घुम्ती) मा दुर्घटना भएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.