काठमाडौं, मंसिर २०: गृहमन्त्रालयले दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई काममुक्त बनाई मन्त्रालय बोलाएको बुझिएको छ ।
रिजालले सार्वजनिक मुद्दाका अभियुक्तसँग रकम लिएको आरोप लगाइएको छ । प्रमुख जिल्ला धिकारी रिजालले थुनछेकका अभियुक्तसँग रकम लिएको बताइएको छ ।
रिजालले मेलुङ गाउँपालिका ४ का कुमार लामा मोक्तानसँग ९० हजार र कालिन्चोक गाउँपालिका १ का इन्द्रबहादुर तामाङ र उदिम तामाङसँग २१ हजार असुल गरेको आरोप लगाइएको छ ।
प्रजिअ रिजालले सार्वजनिक मुद्दा लागेका ती अभियुक्तलाई मुद्दा नचलाउने निर्णय गरेको बुझिएको छ । यस विषयमा विविध कुरा सार्वजनिक भएपछि प्रजिअ रिजालले रकम फिर्ता गरेको बताइन्छ ।
प्रजिअ रिजालका विषयमा प्रश्न उठेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापा र गृहसचिवले रिजाललाई काम मुक्त गराई मन्त्रालय बोलाउने निर्णय गरेका थिए ।
गृह स्रोतका अनुसार प्रजिअ रिजालले रकम लिए नलिएको अनुसन्धानबाट मात्रै ठ्याक्कै भन्न सकिने बताइएको छ ।