दोलखाका किसान तोरी खेतीप्रति आकर्षित

| 2022 Dec 19 | 07:35 am 1001

दोलखा, पुस ४ः दोलखाको सैलुङ गाउँपालिका–५ का किसानहरू नगदे बाली तोरी खेतीप्रति आकर्षित भएका छन् । अन्न बालीबाट खासै आम्दानी नभएपछि परीक्षणको रूपमा गरिएको तोरी खेतीको उत्पादन राम्रै भएपछि यसप्रति किसान आकर्षित भएका किसान रत्नबहादुर तामाङले बताए । उनले गत वर्ष एक पाटोमा लगाएको तोरीबाट राम्रै उत्पादन भयो । तोरी पेलेर आएको तेलले घरमा भुटुन खान र केही कोसेली दिन पुगेको उनले बताए ।

उनले भने, अहिले दुई रोपनीमा तोरी खेती गरेको छु । राम्रै उत्पादन हुने देखिएको छ । यसपालि भने केही बिक्री गर्न सकिने पनि देखिएको छ । गाउँघरमा पुराना तेल पेल्ने प्रविधि हराएकाले टाढै गएर तोरी पेलेर ल्याउनुपर्ने बाध्यता थियो । अहिले भने गाउँमै मिल राखिएको छ । सजिलो भएको छ । अरू खेतीभन्दा सजिलो भएकाले तोरी खेती गर्ने सोच पलाएको छ ।

मकैपछि कोदो लगाउने गरिएको थियो । उनले भने, कोदोबाट आम्दानी हुन सकेन । मकै खेतीपछि अब कोदो नलगाएर सबै बारीमा तोरी खेती गर्ने सोच बनाएको छु । स्वास्थ्यका लागि भटमासको तेल खानुभन्दा तोरीको तेल खान विज्ञहरूले सुझाइरहेका पनि छन् ।

अर्का किसान विष्णु श्रेष्ठले पनि तोरी खेतीलाई प्रोत्साहन दिन लागेका छन् । उनले अहिले तीन रोपनीमा तोरी खेती गरेका छन् । उनले भने, तोरी खेतीबाट शुद्ध तेल पाउनु मात्रै होइन, पिनाबाट प्राङगारिक तथा जैविक विषादी बन्ने रहेछ । यो खेती बहुउयोगी सावित हुन लागेको छ ।

वडामा नगदेबाली तोरी खेतीको प्रचुर सम्भावना देखिएको छ । यो वर्ष करिब १५० रोपनीमा तोरी खेती गरिएको छ । यसलाई प्रोत्साहन गर्न र विस्तार गर्न आलु आर्थिक वर्षमा वडाले तीन लाख रुपियाँ बजेट विनियोजन गरेको वडाध्यक्ष दिलकुमार तामाङले बताए ।

यो बजेट सबभन्दा बढी तोरी खेती गर्नेहरूलाई मल, बिउ विजन समेतका लागि वितरण गर्ने वडाध्यक्ष तामाङले बताए । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.