दोर्दीकाे भीषण बाढीमा परेर ४ जनाका मृत्यु, ११ बेपत्ता

रिपोर्ट नेपाल | 2019 Jul 25 | 07:48 am 1851

लमजुङ, साउन ९: लगातारकाे वर्षापछि दोर्दी करिडोरमा भीषण बाढीमा परेर ११ जना बेपत्ता भएका छन् भने ४ जनाको शव फेला परेको छ र ७ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । बाढीले बगाएकामध्ये ४ जनाको शव फेला परेको प्रनाउ रवीन्द्रमान गुरुङले बताए ।

गुरूङले दिएकाे जानकारी अनुसार ती व्यक्तिको सनाखत हुन बाँकी छ । दोर्दी गाउँपालिका–६ को ठूलो ढुंगाभन्दा माथि उद्दार टोली जान नसकेको जानकारी दिए । घाइते ७ जनालाई प्राथमिक उपचारपछि नेपाली सेनाको टोलीले थप उपचारका लागि जिल्ला सदरमुकाम लगिरहेको प्रनाउ गुरुङले बताए । रात परेको र पानी पनि परिरहेका कारण अब थप खोजी तथा उद्दारको काम बिहीबार विहान मात्र भएकाे  जनाए ।

२५ मेगावाट क्षमताको माथिल्लो दोर्दी जलविद्युत आयोजनाको बाध स्थल रहेको स्थान दोर्दी गाउँपालिका–६ स्थित ढोडेनी क्षेत्रको माताछे बगरमा भएको हो । बेपत्ता हुने र घाइते हुने सबै सोही आयोजनाका कामदार हुन् । बाढी आउँदा उनीहरू दोर्र्दी खोला किनारमा काम गरिरहेको स्थानीयले बताएका छन् ।

माथिल्लो क्षेत्रबाट दोर्दीले बगाएर ल्याएको २ वटा शवमध्ये एउटा दोर्दी गाउपालिका–४, नौथर शेरा नजिकै र अर्को एक जनाको शव दोर्दी गाउँपालिका–६ किर्तिपुरबेंसीमा फेला परेको दोर्दी गाउपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

सोही स्थानमा रहेको ५४ मेघावाट क्षमताको सुपरदोर्दी हाइड्रोपावर कम्पनीको इन्टेक, लोडर, ट्याक्टर र जेनेरेटर बगाएको उक्त कम्पनीका अध्यक्ष इजन बरालले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.