- नवीन राई
सन्तान सफल हुनुमा आमा बुवाको ठूलो भूमिका हुन्छ । आमा बुवाको साथ, सहयोग र हौसलाले नै एउटा सन्तानले जीवनको सही बाटो हिँड्ने अवसर पाएको हुन्छ । जसलाई आमा बुवाको साथ र सहयोग हुन्छ उसलाई जीवनमा अघि बढ्न सहज पनि हुन्छ ।
एउटा विद्यार्थीका लागि परीक्षामा प्रथम हुनु सफलता हो भने खेलाडीका खेल जित्नु । नेताका लागि चुनाव जित्नु , प्रेमी-प्रेमिकाका लागि मन जित्नु या विश्वास जित्न अनि एउटा कलाकारकाे सफलता भनेकाे सबै दर्शकको मन जित्नु हाे।
दोस्रो नेपाल आइडल बनेका रवि ओडले पनि आफ्नो जितमा परिवारको र त्यसमा पनि आफ्नी कान्छी आमाको महत्त्वपूर्ण भूमिका रहेको बताएका थिए। तर आफ्नो घर परिवारसँग खुशी साट्न नपाउँदै पीडा भरिएकाे छ, रविकाे जीवनमा । मजदुरीदेखि म्यादी प्रहरी हुँदै सबैको मायाले नेपाल आइडल बनेका रवि ओडको सानो झुपडीमा खुशीको दियो नबल्दै निभ्न पुगेको छ ।

जन्मदिने आमाको सानैमा गुमाएका रविले कर्मदिने आमा समेत आज गुमाएका छन् । रविले गृह जिल्लामै विजयी उत्सव मनाइरहेकाे बेला एक्कासी उनकाे कान्छी आमा विष्णा ओडको करेन्ट लागेर मृत्यु भएकाे छ ।
आमासँग उनले आफ्नो घरमा खुशीयाली समेत मनाउन पाएका थिएनन् । आइडल जितेपछि आफ्नी कर्म दिने आमासँग करिब आधा घण्टामात्रै बिताएका थिए । सोमबारदेखि सम्मान तथा बधाई थाप्न व्यस्त रहेका रवि मंगलवार बिहान आफ्नो घर पुगेका थिए ।
नेपाल आइडलको उपाधि उचालेपछि गृहजिल्लामै खुशीयाली मनाइरहेका बेला, ठाउँठाउँमा अभिनन्दन भइरहेकाे बेला आमाको मृत्युले कस्तो बनायो होला रविलाई, याे त कल्पना गर्न समेत गाह्रो हुन्छ ।
रवि बुधबार बिहान पनि विभिन्न बधाई तथा सम्मान कार्यक्रममा सहभागि थिए । सम्मान कार्यक्रमपछि घर पुग्ने र दिउँसो काठमाडौँ फर्कर्ने कार्यतालिका थियो । तर, दैवको लिला उनको कार्यतालिका मात्रै परिवर्तन भएन, ठूलो चोट व्यहोर्नुपरेको छ ।
रविकी कान्छी आमाको मृत्युले सारा नेपालीलाई स्तब्ध बनाएको छ । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । उनै विष्णाले रविलाई हुर्काएकी थिइन् । तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन भयाे।

आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका थिए । २१ वर्षदेखि चरम गरीबीमा गुज्रेकाे रविको जीवनका नयाँ पानाहरु पल्टिएकै वेला फेरि बज्रपात आई लागेको छ । विजेता भएको एक सातामै उनको परिवार शोकमा डुबेको छ ।
करेन्ट लागेर घाइते आमालाई उपचारका लागि धनगढी ल्याइयो । कञ्चनपुरमा रहेका रवि पनि अस्पतालका लागि हिँडे । उनले बाटैबाट अस्पतालका चिकित्सकलाई फोन गरेर आफू आइरहेको र जसरी भएपनि आफ्नी आमालाई बचाई दिन आग्रह गरेका थिए । तर, उनले चिकित्सकलाई फोन मार्फत सो आग्रह गर्दा आमा विष्णाको मृत्यु भइसकेको थियो ।
रविले खुसी बाड्न त के अन्तिम समयमा उनको आमाको मुख समेत हेर्न पाएनन् । अब परिवारको थप जिम्मेवारी रविको काँधमा आइपरेको छ । एकातिर नेपाल आइडलले ल्याएको जिम्मेवारी अर्को तिर आमा नहुँदाको दायित्व । रविको जीवनको संर्घष जति दारुण छ त्यति नै लोभलाग्दो उनको कला छ ।
चरम गरिबीबाट मुक्तीका लागि उनका बाबु रोजगारीका क्रममा भारतमा छन्। रवि आईडलको विजेता वनेपछि एउटा सानो घर बनाएर आमालाई राख्न चाहन्थे । बुबालाई भारतबाट फर्काउन चाहन्थे । आफुलाई हुर्काउन बुबा आमाले गरेको संघर्षको गुण तिर्न चाहन्थे तर कर्म दिने आमालाई त्यो गुण तिर्न पाएनन् । आमालाई खुशी साथ राख्न वनाएको उनको योजना अधुरै रह्यो ।

पाल आइडल २ को अन्तिम चरणमा पुगेपछि रविले उनका बुवालाई भारतबाट काठमाडाैँ आउन आग्रह गरेका थिए। बिदा नपाएपछि उनी आउन पाएनन् तर रविकी आमा भने रवि उपलब्धिको साक्षी बन्न कञ्चनपुरबाट राजधानी आएकी थिइन्।
“दुःखीको घरमा मात्र तेरो वास हुने भए, हे ईश्वर ! दया राखी मलाई अझ दुःख दे” साहित्यकार बालकृष्ण समकाे भनाइ जस्तै रविको जीवनमा यथार्थ वनेर आएको छ ।
अब उनको यो कलाले पीडामा मलम लगाउन सकोस् जीवनको पीडा भुलेर बढ्न सकोस् हार्दिक श्रद्धानजली रविकी आमाप्रति । यो दुःखद घडीलाई रवि लगायत उनको परिवारलाई ईश्वरले धैर्यधारण गर्ने शक्ती दिउन् ।