दैलेखमा आगलागीबाट एक बालकको मृत्यु

| 2019 Oct 30 | 12:29 pm 4037

दैलेख, कात्तिक १३: गए राति नौमूले गाउँपालिका–६, गोगनपानीको एक घरमा आगलागी हुँदा चार वर्षीय बालक जलेर मृत्यु भएको छ । स्थानीय प्रेमबहादुर थापामगरको घरमा बालिएको मैनबत्तीबाट आगलागी हुँदा उनका चार वर्षीय छोरा ईश्वर थापाको मृत्यु भएको हो ।

कोठामा बालिएको मैनबत्तीबाट सल्किएको आगलागी भएको प्रहरीको अनुमान छ । बालक आमाबुवासँग मामाघर गएका बेला आगलागीमा परी मृत्यु भएको हो ।

कोठामा बालकलाई सुताएर आमा जिनीषा थापामगर र बुबा गणेश छिमेकमा देउसी खेल्न गएको बेला पल्लो कोठाबाट सुरु भएको आगोले पूरै घर जलेपछि बालकको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

बालबालिकाले प्लाष्टिकको बट्टामाथि राखेर बालेको मैनबत्तीले टेबलमा राखेको सल र कापी किताब सल्किएर पूरै घर जलेको इलाका प्रहरी कार्यालय नौमूलेका इञ्चार्ज प्रहरी नायब निरीक्षक कर्णबहादुर चन्दले जानकारी दिए।

आगलागीबाट घरसँगै जोडिएको खोरमा रहेका ५ वटा बाख्रा मरेका, घरमा भएको अन्न, लत्ता कपडा सबै नष्ट भएको र राति नै परिवारका सदस्यहरुलाई छिमेकीको घरमा सारिएको नौमूले गाउँपालिका–६ का वडाध्यक्ष दलबहादुर गुरुङले बताए ।

घरको धुरीमा आगो लप्का पुगिसकेपछि सबैले भागेर ज्यान जोगाएका तर बालकलाई त्यहाँ सुताएको कुरा आगलागीपछि घटनास्थलमा आमा आइसकेपछि मात्र थाहा पाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.