दैनिक उपभोग्य वस्तुकाे जाेहाे गर्न भारतीय बजारमा जानेहरूको लर्को

रिपोर्ट नेपाल | 2021 Apr 02 | 07:23 am 1921

माेरङ, चैत २०: कोरोना संक्रमणको नयाँ लहर सुरु भएको चर्चासँगै किनमेलका लागि भारतीय बजारमा जानेहरूको लर्को लाग्न थालेको छ। लकडाउनको हल्लाले खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तु किन्नेहरूको भीड बढेको छ।

चोर बाटोहुँदै जोगवनीलगायतका बजार पुग्नेलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको छ। भारतीय बजारमा सस्तो मूल्यमा सामान पाइन्छ भन्ने बुझाइले नेपालीहरूको चाप बढेको एक सुरक्षाकर्मीले बताए। ‘अब पुनः लकडाउन हुने हल्ला चलाइएपछि नेपालीहरू जोगवनी जाने क्रम बढेको छ। भीड रोक्न सक्ने अवस्था छैन’, ती सुरक्षकर्मीले भने।

गत वर्ष लकडाउन गर्दै सरकारले आवतजावतमा रोक लगाउँदै व्यक्तिसहित सवारीसाधन आवतजावतमा रोक लगाएको थियो। त्यसयता जोगवनीबाट विराटनगर प्रवेश गर्ने रानी नाका अझै खुलेको छैन। आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै आउजाउ गर्न दिइएको छ।

मुख्य नाका हुँदै नेपाल आउनेहरूको अभिलेख राखेर स्वास्थ्य जाँच र एन्टिजेन परीक्षण गर्ने गरिएको छ। प्रक्रिया पूरा गरेर आउनेहरू दैनिक १५/१६ जना भन्दा बढी हुँदैनन्। मोरङमा भारतसँगको ६३ दशमलव ४ किलोमिटर खुला सीमा छ।

खुला सीमा हुँदै भारत जाने आउनेको संख्या हरेक दिन बढिरहेको छ। मुख्य मार्गबाहेक अन्यत्रबाट पाँच हजारभन्दा बढीले आउजाउ गर्ने सुरक्षकर्मीको ठहर छ। प्रहरीका अनुसार जोगवनी पुग्नेले रानी नाकाबाहेक विराटनगरको मटेरुवा, दरैया, हुलास मेटल, दक्षिण गेटलगायत पूर्वी मोरङका दर्जनौं स्थानका बाटो प्रयोग गर्छन। अवैध रूपमा नेपाल–भारत आउजाउ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर होल्ड गर्ने र सामान्य कारबाही गरिरहेको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.