काठमाडौं, फागुन २२ : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो एक महिने जनसंवाद (देश दौडाहा) का क्रममा आफूले देशमा मुख्यगरी चार देखेको बताएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराइले, बेरोजगारी र बसाइ सराई, संघीयता कार्यान्वयन र कर्मचारी अभाव जस्ता समस्या देशको मुख्य समस्याको रुपमा आफूले पहिचान गरेको बताएका छन् ।
बुधबार संघीय संसदलाई सम्बोधन गर्दै उनले सबै पक्षलाई समेट्नका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । विप्लव समूह, मधेस तथा पूर्वमा लिम्बुआनका युवाहरुको संविधानका कारण असन्तुष्टि ब्यापक बढेको प्रसङ्ग कोट्याउँदै उनले उनीहरुको गुनासो सम्बोधन गर्नुपर्ने बताएका छन् ।
पूर्वमा लिम्बू युवादेखि मधेससम्म असन्तुष्टि बढिरहेको अवस्थामा सम्बोधन नगरे यसले ढिलो चाँडो ठूलो रुप लिनसक्ने उनको भनाइ थियो । यस्तै उनले द्वन्द्ध व्यवस्थापनको काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिएका छन् । यसको काम रोकिँदा समृद्धि र विकासको बाटोमा अवरोध ल्याउने भन्दै द्वन्द्ध व्यवस्थापनको काम चाँडै सम्पन्न गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘फरगिभ एण्ड फर्गेटको आधारमा अघि बढ्नुपर्छ । यसको विकल्प पनि छैन । कसलाई दण्डित गर्नुपर्छ गरौं । साथीहरुलाई अझै रिस बाँकी छ भने दण्डित गर्नुहोस्, म दण्ड भोग्न तयार छु । तर यसले समृद्धिको बाटो छेकेको छ ।’
डा. बाबुराम भट्टराईले राजनीतिक पद्धत्तिमै परिवर्तन गर्नुपर्ने पनि औंल्याए । प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने पनि उनको तर्क थियो । साथै विश्व पुँजीवादमा प्रवेश गरिसकेको अवस्थामा नेपालले पनि आफूलाई प्रतिष्पर्धी बनाउनुपर्ने उनको भनाइ थियो ।
भ्रष्टाचार रोकथाम, परराष्ट्र नीतिमा चुस्ततालगायत कुरामा सरकारले नयाँ निकाय बनाएर गम्भीर भएर काम गर्नुपर्ने उनले बताएका थिए । उनले बेरोजगारीका कारण बसाइसराई भइरहेको पाएको बताए ।