काठमाडौं, जेठ ९ : नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व उपाध्यक्ष ऋषिकेश जङ्ग शाहले देशलाई समृद्ध बनाउनका लागि आविष्कार क्षेत्रकाे विकास गर्नुपर्ने जरुरी रहेकाे बताएका छन्। अहिले नेपालमा सियाे पनि उत्पादन गर्न नसक्ने बताउँदै आविष्कार क्षेत्रकाे विकास गर्ने सोच नराखेका कारण अहिले यस्तो अवस्था आएको उनले बताए ।
११ विद्यार्थी संघले गर्न लागेकाे ‘नेपालमा आविष्कारको संस्थागत बहस’ घाेषणा कार्यक्रमलाई सम्बोधन गर्दै आविष्कार क्षेत्रका लागि सरकारले बजेट विनियोजन गर्नुपर्ने र यो क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्नेमा उनले जाेड दिए । उनले भने, ‘देशलाई आवश्यक पर्ने उपकरण समाग्रीहरु देशमै उत्पादन गर्न सक्नुपर्छ । देशलाई चाहिने उपकरण यहीँ बनाउन सकियो भने देशमा मात्रै नभएर बाहिर पनि निर्यात गर्ने सक्ने अवस्था बन्न सक्छ ।’

अविस्कार क्षेत्रलाई विकास गर्न एकदमै महत्त्वपूर्ण रहेको बताउँदै यो मुद्दा राष्ट्र बहसको मुद्दा बनाउनु पर्ने पनि उनले बताए । ‘नेपालमा आविष्कारको संस्थागत बहस’मा आएकाे निचोडलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्रको रूपमा बुझाउने समेत जानकारी दिए ।
नेपाल सरकारले त्यो आग्रह नसुनेकाे खण्डमा काठमाडौँका सबै कलेजका विद्यार्थीहरुबीचमा याे अपिल लिएर पुग्ने र २५ /३० हजार विद्यार्थी सडकमा उतार्ने चेतावनी पनि दिए । उनले भने, ‘जुनसुकै हिसाबले यो क्षेत्रलाई पार लगाउने गरी लागेका छाैँ ।’
यो मुद्दा जति सक्दो चाँडो खुलेर बाहिर आउनु पर्ने बताउँदै नागरिक समाज र आम समुदायलाई यो क्षेत्रमा विकास गर्नका लागि सहयाेगकाे अपिल पनि गरे ।
उनले याे क्षेत्रकाे विकास गर्न कहि न कहिबाट स्रोत व्यवस्था हुने पनि बताए । ‘नेपाल आर्मी व्यापार गरेर बसिरहेको अवस्था छ, नेपाल प्रहरीको कल्याकारी कोषत्यो मार्फत व्यापार गरेर बसिरहेको छ, सशस्त्र प्रहरीले व्यापार गरेर बसिरहेको अवस्था छ, गुठी संस्थानको २० अर्ब भन्दा बढी पैसा डम्पीङ भएर बसेको छ ।’ उनले भने, ‘त्यसैले यस्ता सङ्घ संस्थाबाट केही प्रतिशत कहीँ न कहीँ क्षेत्रबाट स्रोत व्यवस्था हुन सक्छ ।’
पेटोलियम पदार्थको मूल्य बढ्दा त्यसको भार नेपाली जनताले बोक्नु पर्ने तर नाफामा जन्छ कर्मचारीले बोनस खाने पनि उनले बताए ।

यही जेठ ११ गते हुन लागेकाे ‘नेपालमा आविष्कारको संस्थागत बहस’ कार्यक्रममा नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, त्रि.वि.वि.का प्रा.डा वैज्ञानिक उदयराज खनाल , डा शेखर गुरुङ, प्रा.डा अभि सुवेदी, प्रा.डा खगेन्द्र लुइटेल, प्रा.डा विद्यानाथ कोइराला, प्रा.डा गोविन्द भट्टराई, काठमाडौं विश्वविद्यालयका साइन्स एण्ड टेक्नोलोजीका डिन डा. भोला थापा, आँखा विशेषज्ञ डा सन्दुक रुहित सहभागी हुने छन् ।
त्यस्तै नेपाल संस्कृति विश्वविद्यालयका वेदान्तका विज्ञ प्रा.डा श्रीराम अधिकारी, बरिष्ठ कलाकर्मी निर शाह, रेखा थापा, कवि तथा साहित्यकार श्रवण मुकारुङ, डा विष्णु विभु घिमिरे, गायक शिशिर योगी, युवा वैज्ञानिक रामलक्ष्मण रिमाल, नायक राजेश हमाल, साहित्यकार कृष्ण धारावासी र रमेश पौडेल, पत्रकार ठाकुर बेलबासे, लगायत देशका प्रतिष्ठित पत्रकार, इन्जिनियर, कलाकार, साहित्यकारहरु पनि उपस्थिति हुने छन् ।