देशभर मौसम बदली, २ दिन वर्षा र हिमपात हुने

| 2020 Jan 16 | 09:24 am 1585

काठमाडाैँ, २ माघ : वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज (बिहीबार) देशैभरको मौसम बदली भएको छ ।

पश्चिमी न्यून चापीय वायु प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो । यो प्रणालीको कारण बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ । यो प्रणलीले देशका धेरैजसो भूभागमा पानी पार्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्ले जानकारी दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखा अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो । अब यो प्रणाली क्रमशः देशैभर फैलिँदै छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भिषण हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले यस्तै मौसम अवस्था भोलीसम्म जारी रहने जनाएको छ । शनिबारदेखि भने मौसममा सुधार हुने बताइएको छ ।

आज दिनभर काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा घाम लाग्ने सम्भावना कम रहेको छ । काठमाडौँमा अहिले मौसम बदली भएकाे छ र दिउँसाेसम्म पानी पर्न सक्छ ।

बदली भएसँगै चिसाेकाे मात्रा पनि बढेकाे छ । आज बिहान ६ बजे काठमाडौँ उपत्यकामा न्युनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो काठमाडौँको अधिकतम तापक्रम १६ देखि १८ डिग्री पुग्ने अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.