देशभर कोरोना संक्रमित र मृत्युदर उकालो

रिपोर्ट नेपाल | 2021 May 12 | 08:14 am 4093

काठमाडौं, बैशाख २९ः देशभर कोरोना संक्रमित र मृत्युदर उकालो लागेपछि अवस्था थप जटिल बन्दै गएको छ । अधिकांश अस्पताल कोरोना संक्रमितले भरिभराउ छन् भने अक्सिजन, सिलिन्डर, रेम्डेसिभिरलगायत औषधि चरम अभाव छ । स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण दरको ‘ग्राफ’ दोब्बर बढ्न थालेको छ ।

सरकारले निषेधाज्ञा जारी गरे पनि संक्रमण नियन्त्रणमा आउनुको साटो झनै बढ्दो क्रममा पाइएको छ । मंगलबार मात्रै २ सय २५ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संख्या संक्रमण सुरु भएदेखि हालसम्मकै उच्च हो । अहिलेसम्म ४ हजार ८४ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ६ सय ३१ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

गत बुधबार ५८, बिहीबार ५४, शुक्रबार ५०, शनिबार ५३, आइतबार ५२, सोमबार १ सय ३९ जनाको मृत्यु भएको छ । संक्रमित संख्या बढेसंगै देशभरका अधिकांश अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना गर्नै छाडेका छन् । समाचार तयार पार्दासम्म सक्रिय संक्रमित संख्या ९७ हजार ८ जना छन् ।

मंगलबार थप ९ हजार ४ सय ८३ मा कोरोना भाइरस संक्रमण देखिएको छ । २० हजार ५ सय ९६ को पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गरिएको छ । हाल, ४ सय ४८ संक्रमित क्वारेन्टाइनमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ हजार ८४ जना आईसीयू र २ सय ९० संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
प्रदेश १ मा १ सय २७ आईसीयू र २९ भेन्टिलेटर, प्रदेश २ मा ६० आईसीयू र ३७ भेन्टिलेटर छन् । बाग्मती प्रदेशमा ५ सय २९ आईसीयू र १ सय ८४ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ८२ आईसीयू र ११ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ६० जना आईसीयू र १३ जना भेन्टिलेटर, कर्णालीमा १ सय २ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २४ आईसीयू र ८ जना भेन्टिलेटरमा छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.