देशभरको मौसम बदली : हल्का वर्षा हुने

रिपोर्ट नेपाल | 2019 Jan 17 | 03:28 pm 1661

काठमाडौं, माघ ३ : काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताइन् ।

अबको एक दुई दिन देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना नरहेको उनले बताइन् । उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो ।

राति आकाशमा बादल लागेकाले पृथ्वीबाट बाहिरिने तापक्रमलाई बादलले रोक्ने भएकाले न्यूनतम तापक्रम नघटेको मौसामविद् कँडेलले बताइन् । उनका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने छ । ‘माघ महिना भर्खर शुरु भएकाले अझै तापक्रम घट्ने सम्भावना छ’, उनले भनिन् ।

देशको मध्य तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । राति देशभरि नै बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । साथै उच्च हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तेै शनिबार उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.