देशभरका ६७ विद्यालयमा आइसोलेसन निर्माण

रिपोर्ट नेपाल | 2020 Jul 02 | 08:23 am 1625

काठमाडौं, असार १८ः क्वारेन्टाइनका रुपमा मात्र प्रयोग गरिएका विद्यालय भवनलाई आइसोलेसन बनाइएको छ । पछिल्लो समय कोभिड–१९ को बिरामी बढ्दै गएपछि देशभरका ६७ विद्यालयमा आइसोलेसन निर्माण गरिएको हो । कोभिड–१९ को बिरामी बढी देखिएको प्रदेश ५ र कर्णाली प्रदेशका विद्यालयलाई आइसोलेसन बनाइएको हो ।

सात प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्यांक अनुसार प्रदेश–५ का ४९ र कर्णालीका १८ विद्यालयको कोठालाई आइसोलेसन निर्माण गरिएको हो ।

केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले असार पहिलो सातादेखि विद्यालयमा आइसोलेसन राखिएको जानकारी दिए ।

विद्यालयमा क्वारेन्टाइन बनाउँदा व्यवस्थित नभएको व्यापक गुनासो आइरहेको अवस्थामा आइसोलेसन बनाउदा झनै समस्या हुने देखिएको छ । सरकारले विदेश र अर्को जिल्लाबाट आएकालाई क्वारेन्टाइन र कोरोना संक्रमण देखिएमा आइसोलेसनमा राख्ने व्यवस्था गरेको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकको आधारमा हालसम्म दुईवटा प्रदेशका विद्यालयमा आइसोलेसन निर्माण गरिएको र अन्य प्रदेशका विद्यालयमा पनि आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भइरहेको छ ।

सरकारले कोरोना संक्रमित देखिएकालाई राख्न आइसोलेसन निर्माण गरिएको हुन्छ । आइसोलेसन भएको स्थान नजिक अस्पताल वा स्वास्थ्य संस्था, अनिवार्य रुपमा स्वाथ्यकर्मी, हावा खेल्ने र पर्याप्त हावा आउने कोठा, स्नानघर र शौचालय, हात धुने र ब्रस गर्ने बेसिन, ज्वरो जाँच गरी रेकर्ड राख्ने सुविधा भएको स्थानलाई आइसोलेसनका रुपमा प्रयोग गर्न सकिन्छ ।

आइसोलेसनमा बसेका व्यक्तिमा श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी महसुस भएमा, ओठ तथा अनुहार नीलो देखिएमा, होस हराएमा र अन्य कुनै जटिल अवस्था देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकलाई जानकारी गराउने र एम्बुलेन्सको माध्यमबाट अस्पताल पु¥याउने व्यवस्था भएको स्थानलाई आइसोलेसन बनाउन सकिने भएकाले विद्यालयमा आइसोलेसन राखिएको केन्द्रको भनाइ छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अस्पतालहरु भरिभराउ भएपछि उपयुक्त विद्यालयलाई प्रयोग गरिएको जानकारी दिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.