काठमाडौँमा पूर्ण रुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ । सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले बताएका छन् ।
एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको उल्लेख गर्दै शाखा अधिकृत खत्रीले अब चल्ने एनालग केवल टेलिभिजन अवैध ठहरिने बताए ।
सरकारले देशभरि यो सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । सरकारले दिएको समयावधि पालना गरे÷नगरेको अध्ययनका लागि शाखा अधिकृत खत्री र इलेक्ट्रोनिक इञ्जिनीयर अनिल भुजेलको दुई सदस्यीय टोलीले नेपालगञ्जस्थित बागेश्वरी केवल टेलिभिजन र सुपर भिजन केवल टेलिभिजनको अनुगमन गरेको छ । अनुगमनका क्रममा सञ्चालनमा रहेको एनालग सेवा बन्द गरिदिएको छ ।
नेपालको पूर्वी क्षेत्रबाट उक्त प्रविधिको केवल टेलिभिजन बन्द गर्न शुरु गरेको टोलीले टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन नेपालगञ्जमा पनि अनुगमनसँगै एनालग सेवा बन्द गरेको शाखा अधिकृत खत्रीको भनाइ छ । यो प्रणालीअनुसार ग्राहकले घरमा जति टिभी छन्, त्यति नै सेट–टप बक्स जोड्नुपर्छ ।
अहिले केवल सञ्चालकले ग्राहक सङ्ख्या न्यून देखाएर मूल्य अभिवृद्धि कर बिल जारी नगर्ने समस्या बढेसँगै अनुगमन थालिएको मन्त्रालयका शाखा अधिकृत खत्रीले बताए । उनका अनुसार भारतीय डिटीएचबाट गैरकानूनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको व्यवस्था प्रभावकारी हुने अपेक्षा छ ।
अब हरेक टेलिभिजनमा सेट–टप बक्स राखेर सेवा लिएबापत सञ्चालकलाई छुट्टै शुल्क तिर्नु नपर्ने जानकारी दिँदै इलेक्ट्रोनिक इञ्जिनीयर भुजेलले भने, “यसले सरकारको राजश्वमा वृद्धि हुनुका साथै पूर्ण रुपमा डिजिटाइजेशन प्रक्रिया सकिएपछि केवल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउने छन् ।”
यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि एक हजार ५०० देखि चार हजार ५०० मूल्यका छुट्टै सेट–अप बक्स लगाउनुपर्छ । यो प्रणालीअनुसार ग्राहकले प्रत्येक टेलिभिजनमा छुट्टाछुट्टै त्यस्तो बक्स जोड्नुपर्छ । हरेक टेलिभिजनमा उक्त बक्स राखेर सेवा लिएबापत सञ्चालकलाई छुट्टै शुल्क तिनुपर्छ ।
नेपालगञ्जमा सेवा दिइरहेका केवल टेलिभिजनले भारतीय डिटीएचबाट गैरकानूनी रुपमा सिग्नल लिएर वितरण गरिरहेको पाइएको छ । नेपालमा भन्दा सस्तो मूल्यमा पाइने भारतीय डिटीएच गैरकानूनीरुपमा केवल टेलिभिजनले नै प्रयोग गरिरहेको पाइएको छ । टोलीले नेपालगञ्जस्थित बागेश्वरी केवल टेलिभिजनमा गरेको अनुगमनका क्रममा भारतीय डिटीएचसमेत हटाएको छ ।