देशभरका आकस्मिक बाहेकको सेवा ठप्प, ५० हजारभन्दा बढी बिरामी मर्कामा

| 2019 Feb 27 | 08:31 am 2579

काठमाडौं, फागुन १५ : देशको सबैभन्दा ठूलो केन्द्रिय अस्पताल वीर अस्पतालमा दैनिक औषत १ हजार ५ सय भन्दा बढी बिरामी ओपिडी सेवा लिन अस्पताल पुग्‍ने गरेका छन्। अस्पताल परिसरमै रहेको राष्ट्रिय ट्रमा सेन्टरमा आउने बिरामीको संख्या समेत जोड्ने हो भने यो संख्या २ हजार ५ सयभन्दा माथि पुग्छ।

तर, सरकारी डाक्टरहरुको आन्दोलनका कारण यी दुई अस्पतालबाट मात्र झण्डै २ हजार ५ सय बिरामीले सेवा नपाउने भएका छन्। यी दुई अस्पतालमात्र होइन सरकारी चिकित्सक संघ (गोदान)को अगुवाईमा डाक्टरहरुले आजबाट देशभरका सबै सरकारी अस्पतालमा आकस्मिक बाहेकको सेवा ठप्प पार्ने भएका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभरमा केन्द्रिय, प्रदेशस्तरका, जिल्ला स्तरका र स्थानीय तहका गरी १ सय ६० अस्पताल छन्। यसका साथै २ सय २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र झण्डै ४ हजार स्वास्थ्य चौकी रहेका छन्। सबै गरेर देशभर ४ हजार २ सय ८२ स्वास्थ्य संस्था छन्।

स्वास्थ्य मन्त्रालयसँग यी सबै सरकारी संस्थामा कति बिरामी ओपिडी सेवा लिन दैनिक आउने गर्छन् भन्ने एकिन तथ्यांक छैन। तर, मन्त्रालयले यी सबै संस्था गरी ५० हजारभन्दा बढी बिरामीले दैनिक ओपिडी सेवा लिने गरेको अनुमान गरेको छ।

मन्त्रालयकै यही तथ्यांक अनुसार डाक्टरहरुको आन्दोलनका कारण देशभर ५० हजारभन्दा बढीले आज उपचार सेवा नपाउने भएका छन्।

स्वास्थ्य चौकीमा डाक्टरको दरबन्दी नभए पनि कर्मचारी समायोजनामा स्वास्थ्यका सबै कर्मचारीको असहमति रहेका कारण यी संस्थाको सेवा पनि प्रभावित हुने देखिएको छ।

सरकारले अगाडि बढाएको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै डाक्टरहरुले विगत केही सातादेखि आन्दोलन गर्दै आइरहेका छन्। सरकारले माग सम्बोधन नगरेको भन्दै उनीहरुले बुधबारबाट आकस्मिक बाहेकको सेवा बाहिस्कारको आन्दोलन सुरु गरेका हुन्।

संघीयता कार्यान्वयनका क्रममा समायोजन गर्दा भेदभाव गरिएको भन्दै गोदानले सुरुवातदेखि आन्दोलन गर्दै आएको छ। गोदानको आन्दोलनमा नेपाल चिकित्सक संघले समेत सघाएको छ।

गोदानले माग पुरा गर्न सरकारलाई मंगलबारसम्मको समयसिमा दिएको थियो। आइतबार पत्रकार सम्मेलन गर्दै ७२ घण्टाको समय दिँदा समेत सरकारले माग पुरा नगरेपछि बन्दको कार्यक्रम गर्न बाध्य भउको गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले जानकारी दिए। उनले आफ्ना माग पुरा नभए सबै सरकारी डाक्टरले सामुहिक राजिनामा दिने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.