देशको अर्थतन्त्र केही वर्ष वैदेशिक रोजगारीमा निर्भर रहने: मन्त्री भण्डारी

| 2023 Aug 18 | 03:31 pm 2517

काठमाडाैं, भदाै १ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र अझै केही वर्ष वैदेशिक रोजगारीमा निर्भर रहने बताएका छन्।

नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले मन्त्रालयमा यस्तो कुरा बताएका हुन्।

मन्त्री भण्डारीले सरकारले अहिले वैदेशिक रोजगार ऐन संशोधन गर्न गृहकार्य गरेर टुंगोमा पुर्याउने  बताए। उनले वैदेशिक रोजगारबाट नै मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने अवस्था अहिले पनि कायम रहेको बताएका थिए।

वैदेशिक रोजगार ऐन परिमार्जनका लागि नागरिक समाज अभियानको तर्फबाट मौजुदा वैदेशिक रोजगार ऐन, २०६४ मा परिमार्जनका लागि नागरिक स्तरमा संकलन गरिएको ६ हजार १५९ नागरिकहरूको हस्ताक्षर र ज्ञापन पत्र मन्त्री भण्डारीलाई बुझाएको हो। नागरिक समाज अभियानले तयार पारेको वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जनका लागि १८ वटा शीर्षकहरूको २८ पेजको प्रस्ताव समेत मन्त्रीलाई बुझाइएको छ।

उनीहरुले व्यवसायीको अनुगमन प्रभावकारी बनाउन,  वैदेशिक रोजगारमा महिला माथिको भेदभाव हटाउँदै खाडी मुलुकहरूमा घरेलु महिला कामदार उपरको प्रतिबन्ध हटाउन आप्रवासी कामदारलाई मतदानको अधिकार दिलाउन कानुनी व्यवस्था गर्न, वैदेशिक रोजगारमा कामदार पठाउँदा शून्य लागत, भर्ना खर्च रोजगारदाताले व्यहोर्नेको नीति लागू गर्न, वैदेशिक रोजगार व्यवसाय गर्न मापदण्ड तोक्न लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.