देउवा सभापति बनेपछिको कांग्रेसका तीन वर्ष

रिपोर्ट नेपाल | 2019 Jun 20 | 12:48 pm 2253

कृष्ण प्रसाद सापकोटा

वर्तमान संविधान ‘डिरेल’ भएन भने २०७८ मंसीरमा स्थानीयतहको निर्वाचन हुनेछ । २०७९ बैशाखमा प्रदेश तहको निर्वाचन हुनेछ भने २०७९ मंसीरमा संघीय प्रतिनिधिसभाको निर्वाचन हुनेछ । अब यी मितिहरु आइपुग्न क्रमश २ वर्ष ५ महिना, २ वर्ष ९ महिना र ३ वर्ष ५ महीना समय बाँकी छ ।

सामान्यत निर्वाचन हुनु भन्दा एक वर्ष अघि नै दलहरुले सघन रुपमा गृहकार्य सुरु गर्ने भएकोले माहोल तातिसेकेको हुन्छ । दुई महीना अघि दलहरुले उमेदवार तय गरिसक्नु पर्छ । निर्वाचन आयोगले चुनवी कार्यक्रम घोषणा र दलहरुले उमेदवार घोषणा गरेपछि साँचै नै माहौल तात्छ ।

यतबेला करिव ७० प्रतिशत स्थानीय सरकारमा नेकपाको एकलौटी बर्चश्व छ । सात मध्ये ६ वटा प्रदेशमा नेकपाको दुई तिहाई भन्दा बढी बहुमत छ । प्रदेश २ मा पनि नेकपाले नै सत्ताको साँचो लिएर बसेको छ । संघीय संसदको प्रतिधिसभामा नेकपाको करिव दुई तिहाई बहुमत छ भने राष्ट्रिय सभामा तीन चौथाई बहुमत छ । तर नेकपाको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसको स्थानीय सरकारमा नाक जोगिने अवस्था रहे पनि प्रदेश सभा र संघीय संसदका दुवै सदनमा कन्त विजोग छ । नाक जोगिन सक्ने अवस्था समेत छैन ।

अब नजिकँदै आएका तीन वटै तहका निर्वाचनमा पनि छिमेकी मुलुक भारतको कांग्रेस आईले कन्त विजोग बेहोरेको जस्तै हाम्रो देशमा पनि नेपाली कांग्रेसको यही अवस्था रहला कि, केही परिवर्तन आउला ? यतिबेला राजनीतिक विश्लेषकहरु बीच मुख्य चर्चा यसै विषयमा हुने गरेको छ ।

भारतको झस्को
छिमेकी मुलुक भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचन पछि नेपालको आगामी निर्वाचन पनि त्यही दिशामा जाने त होइन ? भन्ने चर्चा हुनु स्वभाविकै हो । भारतको कांग्रेस आइको अवस्था र हाम्रो देशको नेपाली कांग्रेसको अवस्था उस्तै उस्तै देखिएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैली र हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलीको शैली उस्तै उस्तै देखिएको टिप्पणी पनि विश्लेषकहरुबीच हुने गरेको छ ।

यो विश्लेषणमा केही हदसम्म सत्यता पनि छ । कांग्रेस आइ भारतलाई स्वतन्त्र बनाएर लोकतन्त्रको जग खडा गर्ने पार्टी हो, नेपाली कांग्रेस पनि नेपाललाई पारिवारिक निरंकुश शासनबाट मुक्त गराएर लोकतन्त्रको जग बसाल्ने पार्टी हो । कांग्रेस आइ जनताको विश्वास पाएर लामो समय सत्ता संचालन गरेको पार्टी हो, नेपाली कांग्रेस पनि जनताको विश्वास पाएर लामो समय सम्म सत्ता संचालन गरेको पार्टी हो । जसरी कांग्रेस आइलाई आफ्नो इतिहास भजाएर भोट माग्ने गरेको आरोप लाग्यो त्यसरी नै नेपाली कांग्रेसलाई पनि आफ्नो इतिहास भजाएर भोट मागेको आरोप लाग्ने गरेको छ ।

जहाँ सम्म मोदी नेतृत्वको भाजपा र ओली नेतृत्वको नेकपाको प्रश्न छ त्यसमा भने तुलना गर्न सकिने आधार कम छन् । मोदी र ओलीको भाषण शैली मिल्नु बाहेक अरु आयमहरु नितान्त फरक छन् । भाजपाको आर्दश आफ्नो भूमिको माटोसँग जोडिएको बैदिक साम्यवाद हो भने नेकपाको आर्दश भनेको कार्लमाक्र्स, लेलिन र माओत्सेतुङ्ले प्रतिपादन गरेको साम्यवादको परिकल्पना हो । जुन परिकल्पना स्वयं उनीहरुले शासन सत्ता हात पार्दा समेत चरितार्थ गर्न सकेनन्, उल्टो करोडौं निर्दोष जनताहरु मारिए ।

विश्लेषकहरुका अनुसार भारतमा कांग्रेस आईको कन्त विजोग हुनुको पछाडिको मुख्य कारण नेतृत्वको कमजोरी त हुँदै हो, सँग सँगै मोदी जस्तो चतुर नेता र भाजपा जस्तो स्पष्ट लक्ष बोकोको निकै चुस्त र जाँगरिला कार्यकर्ता भएको पार्टी पनि हो ।

तर नेपालका सन्दर्भमा नेपाली कांग्रेसका लागि नेकपा ठूलो चुनौति होइन । सत्ता संचालन र पार्टी संचालन दुवै मोर्चामा केपी ओली असफल भइसकेका छन् । ओली सरकार कम्पास हराएको जहाज जस्तो दिशा विहिन अवस्थामा कुँदी रहेको छ भने नेकपा संगठन विहिन अवस्थामा गुज्रिरहेको छ । त्यसैले नेपाली कांग्रेसका लागि मुख्य चुनौती नेकपा नभएर पार्टी भित्रैको अन्तरद्धन्द हो ।

कांग्रेसको अन्तरद्धन्द
विपरित बर्गीय स्वार्थ बोकेका दुई पार्टीबीचको एकीकरणबाट नेपाली कांग्रेसको स्थापना भएकोले कतिपय विश्लेषकहरु भन्छन्–‘नेपाली कांग्रेसको अन्तरद्धन्द जन्मसिद्ध गुण हो । तर यतिबेलाको अन्तरद्धन्द केवल सत्तामा केन्द्रित छ ।

चुनाव हारेकोले राज्य सत्ताबाट त नेपाली कांग्रेस धेरै टाढा छ तर पार्टी सत्ताको आकर्षण भने घटिरहेको छैन । सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा आफ्नो पदलाई अझै एक दशक निरन्तरता दिन चाहन्छन् । अर्थात श्रीमती आरजुका हातमा पार्टी सत्ता पुग्ने सुनिश्चित नहुँदासम्म आँफ्नो हातबाट पार्टी सत्ता कुनै पनि हालतमा बाहिर उम्कन नदिने रणनीति सभापति देउवाको छ । आफ्नो पारिवारिक विरासतबाट पार्टी सत्ता बाहिर गएकोमा कोइराला परिवारलाई चित्त बुझेको छैन ।

कुनै हालतमा पनि पार्टी सत्ता आफ्नो परिवारका हातमा फिर्ता गर्ने रणनीतिमा कोइराला परिवार छ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल गत महाधिवेशनका घाइते मात्रै होइनन् पार्टीभित्र सक्रीय नेताहरुमध्ये सबै भन्दा सिनियर पनि हुन् । एक पटक सभापति बनेर पार्टी केन्द्रीय कार्यालयमा फोटो झुण्ड्याउने ठूलो धोको पौडेललाई छ । त्यसैगरी ७० वर्ष नाघिसकेकाहरुका लागि पार्टीलाई गति दिने समय र सामाथ्र्य छैन भन्दै नयाँ पुस्ता पनि शशक्त रुपमा अघि आएको छ ।

गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, महेन्द्र यादव, बद्री पाण्डे, कल्याण गुरुङ, मीन विश्वकर्मा लगायतका युवाहरु निकै आक्रामक रुपमा अघि आइसकेका छन् । नेपाली कांग्रेसमा देखा परेको अहिलेको अन्तरद्धन्द यही हो । अन्तद्धन्दका यी चार पक्षमध्ये सभापति देउवा पक्ष सबै भन्दा सशक्त छ । अरु तीन पक्ष एक ठाउँमा भएको अवस्थामा बाहेक देउवालाई कमजोर बनाउने ताकत पार्टी भित्र कसैको पनि देखिँदैन ।

मुख्य समस्या
देउवा पार्टी सभापति पनि हुन्, उनको समुह कांग्रेस भित्र सबै भन्दा बलियो पनि छ । आजका मितिसम्म देउवा केन्द्रीय समिति , महासमिति र महाधिवेशन गरी तीन वटै प्रमुख निकायमा सुविधाजनक बहुमतमा छन् । तर जनताबीचको लोकप्रियताका कसीमा देउवाको छवी सबै भन्दा कमजोर छ ।

देउवालाई अघि सारेर नेपाली कांग्रेसको जनमत बढ्ने अवस्था छैन । देउवा आजसम्म ४ पटक प्रधानमन्त्री बने तर यी चारै पटक राम्रो छवी निर्माण गर्न सकेनन् । पार्टी सत्ता संहाल्ने अवशर पनि देउवाले अहिले समेत दुई पटक प्राप्त गरे । यस अघि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापतिका रुपमा देउवाले पार्टी सत्ता संचालन गर्ने अवसर पाएका थिए ।

करिव ५ वर्ष उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) को नेतृत्व गरे । तर नेपाली कांग्रेसबाट जति हिस्सालिएर देउवा बाहिरिएका थिए अन्तिम चरणसम्म त्यो हिस्सालाई एक चौथाई पनि जोगाउन सकेनन् । ७५ प्रतिशत नेता तथा कार्यकर्ताहरुले देउवाको साथ छाडे । २०५९ सालमा फुुटेको नेपाली कांग्रेस २०६४ सालमा एकीकृत भयो । पार्टी एकीकरणका ८ वर्ष पछि अर्थात २०७२ सालमा देउवाले १३ औं महाधिवेशनको माध्यमद्धारा सिंगो नेपाली कांग्रेसको सभापति बन्ने मौका पाए । उनी चार वर्षका लागि सभापति पदमा निर्वाचित भएका हुन् ।

त्यसमध्ये ३ वर्ष ४ महीनाको अवधि गुज्रिसकेको छ । अब देउवाको कार्यकाल ८ महीना मात्रै बाँकी छ । यो अवधिमा नेपाली कांग्रेसबाट उल्लेख्य नेता तथा कार्यकर्ता बाहिरिएका छन् । पार्टी संगठन करिव करिव ध्वस्त छ । केन्द्रिय विभागहरु गठन नै भएका छैनन् । प्रदेश समिति , प्रदेशसभा निर्वाचन क्षेत्रत्रिय समिति तथा पालिका समितिहरु समेत गठन हुन सकेका छैनन् । भ्रातृ संगठनहरुको हालत त्यतिकै चौपट छ ।

माथि नै उल्लेख गरिसकिएको छ कि अव निर्वाचनको मिति आउन धेरै बाँकी छैन । तर सभापति देउवाको कार्यशैली हेर्ने हो भने स्थानीय तहको निर्वाचन आउनु भन्दा ६ महीना अघि मात्रै कांग्रेसको गाउँ तथा जिल्ला अधिवेशन हुने देखिन्छ ।

गाउँ तथा जिल्ला अधिवेशनमा आपसी चुनावी प्रतिस्पर्धाका कारण तिक्तता त हुन्छ नै । तिक्तताको आलो घाउ लिएर स्थानीयतहको चुनावमा जाँदा अन्तरघात हुने अवस्थालाई रोक्न सकिन्न । यसैले नेपाली कांग्रेसले हिँजो पनि अन्तरघातका कारण चुनाव हारेको थियो । भोली पनि अन्तर्घातकै कारण चुनाव हार्ने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.