-
शीवमणी भण्डारी
काठमाडौं, फागुन १५ : नेपाली काँग्रेस केन्द्रीय समितिको गत १२ गतेको एकपक्षिय निर्णयको बिरुद्धमा नेपाली काँग्रेसका उपत्यकामा उपलब्ध जिल्ला सभापतिहरुको अनामनगरमा गोप्य भेला बसेको छ ।
गत महासमितिको भावना केन्द्रीय सभापति र बरिष्ठ नेताले सार्वजनिक रुपमा जनाएको प्रतिबद्धताका बिरुद्धमा सभापति देउवा आफैं उभिएपछि उक्त निर्णय फिर्ता गराउन दवाव सिर्जना गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको सम्बन्ध सूत्रले जनाएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय नेताहरुलाई स्वत महासमिति र क्षेत्रीय प्रतिनिधि बनाउँने, समानुपातिक तथा आश्रीत कोटा एक पटकका लागि कायम गर्ने व्यवस्था विधानमा समावेश गर्न अधिकांश महासमिति सदस्य र ६० भन्दा बढी जिल्ला सभापतिहरुले दावाव दिएका थिए ।
गत केन्द्रीय समिति बैठकमा उक्त भावना विपरित गई विधान जस्तो संवेदनशील मुद्दामा सर्वसम्मत रुपमा समाधान गर्नुको बदला बहुमतीय पद्धतीबाट टुङ्गाउने निर्णय आत्माघाती भएको ठहर पनि उक्त भेलाले गरेको छ ।
सभापति देउवाले बहुमतको दम्भमा महासमितिको म्यान्डेडलाई लत्याएको र त्यसलाई नसच्चाएमा विशेष महासमितिको बैठक बोलाउने तयारी पनि गरिएको बुझिएको छ ।