देउवाको प्रश्न : राज्य नै दोषी जोगाउन लागेपछि न्याय माग्न कहाँ जाने ?

| 2018 Aug 26 | 03:08 pm 1629

काठमाडौं, भदौ १० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै वास्तविक दोषीलाई उन्तुक्ति दिन लागेको भन्दै असन्तुष्टी जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै देउवाले दोषी जोगाउन सरकार नै लागेपछि न्याय माग्न कहाँ जाने ? भन्दै प्रश्न गरेका छन् ।

देउवाले महिलामाथि भइरहेका बलात्कारका घटनाले आफूलाई चिन्तित बनाएको बताए। ‘कञ्चनपुर घटनाकमो अनुसन्धानमा भएको ढिलाइले हामी कस्तो राज्य गइरहेका छौं भन्ने प्रश्न उब्जिएको छ’ उनले भने ‘दोषीलाई जोगाउन स्वयंं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?’ बलात्कारपछि बालिकाको हत्या निन्दनीय मात्र नभइ जघन्य अपराध भएको समेत बताए ।

अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्न अपराधको पराकाष्टा नै हो भन्दै देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए । ‘राज्यले नै दोषीलाई जोगाउन खोज्दा हजारौं नागरिक सडकमा ओर्लिनु स्वभाविक हो’ देउवाले भने ‘बालिकाका लागि न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपरेको छ ।’

उनले थपे ‘निर्मला पन्त हत्या प्रकरणमा राज्यले संयमता अपनाउन नसक्दा प्रहरीको गोलीबाट अर्का बालकको मृत्यु भयो, कैयौँ घाइते भएका छन्, सरकारको यस्तो दमनकारी शैलीको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु, देउवाले भने ‘एक बालिकाका लागि न्याय माग्दा अर्काे बालकले मारिनुपर्ने यो कस्तो लोकतन्त्रको अभ्यास गराउँदैहुनुहुन्छ प्रधानमन्त्री जी ले ?’

उनले निर्मला पन्त मुलुकका लागि एक प्रतिनिधि पात्र मात्रै भएको बताउँदै यस्ता घटना रोक्न सबैले हातेमालो गर्नुपर्ने बताए ।  देउवाले भने, ‘सबै खाले राजनीतिक आवरण भन्दा माथि उठेर हाम्रा छोरी चेलीको मर्यादा, सुरक्षा र सम्मान अभिबृद्धीका लागि सबैलाई गम्भीर बन्न म अपिल गर्छु ।’

साथै उनले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएको आरोप समेत लगाए । न्यायाधीश दीपकराज जोशीलाई प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नु र सुनुवाइ समितिले अस्वीकर गर्नु दोहोरो चरित्र भएको उनको टिप्पणी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.