चितवन, असोज १६: सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा मानिसहरुले नितान्त व्यक्तिगत कुराहरु पनि फेसबुकबाट लाइभ गर्ने प्रचलन बढ्दै गएको छ। तर, आइतबार राति एक युवाले भने आफ्नै आत्महत्याको समेत फेसबुक लाइभ गरेका छन्।
कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गर्नुअघि एक मिनेट २४ सेकेन्ड लामो फेसबुकमा लाईभ गरेका छन्। लाइभमा गरिएको भिडियोमा फोर्थ क्वाटर रक्सी खाँदैछु भनेर उनले बोलेका छन्। जसमा ‘मैले रक्सी खाँए, यो मेरो आमाको सल हो, यसलाई यसरी लगाउँछु र झुण्डिन्छु’ भनेर भनिएको छ। निश्चल सलको पासोमा झुण्डिरहेको देखेपछि बाबु जीवनले प्रहरीलाई खबर गरेका थिए।
तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ’, भन्ने प्रश्न गर्दै त्यसको समय पनि लेखेर तामाङले फेसबुक स्टाटस अपडेट गरेका थिए।
उनले आत्महत्या गर्नुअघि दुर्इ पेज लामो सुसाइड नोटसमेत लेखेको भेटिएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दयानिधी ज्ञवालीले बताए। उनले भने, ‘अगाडी पछाडी पुरै दुई पेज लेखिएको सुईसाईड नोट भेटिएको छ।’
नोटमा आत्महत्या गर्नुको कारण आफैं भएको र यसको जिम्मा समेत आफैं लिने भनेर लेखिएको ज्ञवालीले बताए। तामाङले सुसाइड नोटमा लेखेका छन् ‘मैले जति सुध्रिन खोजे पनि सुध्रिन सकिन, म राम्रो मान्छे बन्न सकिन। यो जुनीलाई यस्तै भो अर्को जुनी यहि आमाको कोखबाट जन्मिन्छु। राम्रो मान्छे भएर जन्मिन्छु।’
राती १२ बजेको सेरोफेरोमा सुसाइड गरेको हुनसक्ने अनुमान डिएसपी ज्ञवालीको छ। प्रहरीलाई घटनाका बारेमा दुई बजे खबर आएको डिएपी ज्ञवालीले बताए। प्रहरी घटनास्थल पुग्दा पासो काटिसकेको र मृत्यु भईसको उनले बताए।
सामान्य परिवारका उनी ट्याटु बनाउने काम गर्थे। कक्षा १२ मा पढ्दापढ्दै बीचैमा पढाई छोडेका निश्चलले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए। उनलार्इ लागुपलार्थको लतमा फसेपछि रिहाब सेन्टरमा राखिएको थियो। उनीले रिहाबबाट फर्किएको एक महिना सुसाइड गरेका हुन्।