काठमाडौं, चैत्र ४: दुबई पठाइदिन्छु भन्दै साढे १० लाख ठगी गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ ढोरपाटन नगरपालिका ४ खुङ्गाका हाल काठमाडौं रानीवन बस्दै आएका ३८ वर्षीय शिव कुमार घर्ती मगर रहेका छन् ।
उनलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार गोंगबुबाट पक्राउ गरेको हो ।
घर्ती मगरले दुबईमा वर्किङ भिसामा आकर्षक तलब हुने भन्दै विभिन्न मितिमा ९ जना व्यक्तिहरूबाट १० लाख ५३ हजार एक सय लिई सम्पर्कविहीन भएको बताइएको छ ।
उनले ठगी गरेर अलपत्र भएको भन्दै पीडित खगेन्द्र चौधरीले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा महाशाखाले उनलाई खोजतलास गरी पक्राउ गरेको हो ।
पक्राउ परेका घर्ती मगरलाई महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा थप अनुसन्धान तथा कारबाहीको लागि पठाएको उक्त महाशाखाले जनाएको छ ।