दुई लाख लुट्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 11 | 07:10 pm 3349

भक्तपुर, असोज २५  : रु दुई लाख लुटपाट गरी फरार भएका लुटेरालाई प्रहरीले आज पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–५ सयपत्री टोलका जया कोइरालाले दशैँका लागि मनि ट्रान्सफरबाट रु दुई लाख झिकेर झोलामा राखी लैजाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले नगद बोकेको उक्त झोला लुटेर भागेका थिए ।

भक्तपुर चाँगुनारायण नगरपालिका– २ दुवाकोट सडकस्थित हनुमन्ते पुलमा नगद बोकेको झोला लुटेर भाग्ने दुई जनामध्ये एक जनालाई लुटेको रकम र सो कार्यमा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक बलेफी घर भई हाल मध्यपुरथिमि चपाचो बस्दै आएका २० वर्षीय सुजन तामाङ रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

तामाङका साथबाट लुटपाटमा प्रयोग भएको बा९१प ५५१३ नंको मोटरसाइकल र लुटिएको नगद रु दुई लाख बरामद गरेको उनले जानकारी दिए । लुटपाटमा संलग्न अर्को एक जनाको खोजी कार्य भइरहेको पनि प्रहरी नायब उपरीक्षक केसीले बताए ।

प्रनाउ केसीका अनुसार कोइरालाले सल्लाघारीमा रहेको दुई वटा मनिट्रान्सफरबाट रु एक-एक लाख झिकेर कागजमा पोको पारी झोलामा हालेर घर जाँदै गर्दा मोटरसाइकलमा आएका दुई लुटेराले झोला खोसेर लगेको जानकारी पाएलगत्तै प्रहरीले चौतर्फी नाकाबन्दी गरेर खोजी गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.