दुई लाखमा बलात्कारको घटना, रिपोर्ट नआउँदै बलात्‍कारका आरोपी छुटे

रिपोर्ट नेपाल | 2018 Oct 04 | 07:32 am 3699

कालिकोट, असोज १८ : दुई महिनाअघि कालिकोटमा भएको बलात्कारको घटना दुई लाख रुपैयाँमा मिलाइएको छ। पीडित किशोरीले बयान फेरेपछि बलात्कारका आरोपी जिल्ला अदालतको आदेशमा छुटेका छन्।

सान्नी त्रिवेणी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ साउनमा सोही गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनकबहादुर बम पक्राउ परेका थिए। पीडित किशोरीले आफूलाई सान्नी त्रिवेणी गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएकी थिइन्।

उनले २५ साउनमा जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले जनकलाई पक्राउ गरेको थियो। जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी पुर्पक्षका लागि थुनामा रहेका थिए। पैसाको लोभमा पीडितले बयान फेरेपछि आरोपी छुटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले बताए। ‘सबै प्रमाण जुटाएर मुद्दा दर्ता गरियो । तर, पीडितले बयान फेरिपछि बलात्कार दोषीले उन्मुक्ति पाए,’ डिएसपी शर्माले भने।

डिएसपी शर्माका अनुसार बलात्कारका आरोपी जनकको परिवारले पीडित परिवारलाई पैसा दिएपछि बयान फेरिएको हो। ‘जनकको परिवारले पीडित किशोरीको परिवारलाई दुई लाख रुपैयाँ दिएको रहेछ। त्यसकै आधारमा अदालतमा बयान फेरिएको जानकारी पाएका छौँ,’ डिएसपी शर्माले भने। १२ असोजमा अदालतले रिहा गर्न आदेश दिएपछि जनक छुटेका छन्।

अधिकारकर्मीले दबाब दिएर मिल्न लगाएको आरोप लगाएका छन्। पीडित दलित परिवारलाई गाउँमा अप्ठ्यारो हुने अवस्था सिर्जना गरेपछि मिल्न बाध्य भएको अधिकारकर्मीको भनाइ छ।

डिएनए रिपोर्ट नआउँदै रिहा

कालिकोट प्रहरीले पीडित किशोरीको भेजिन स्वाब र जनकको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा नमुना पठाएको छ। त्यसको रिपोर्ट आउन बाँकी रहेको डिएसपी शर्माले बताए। त्यो रिपोर्ट नआउँदासम्म दोषीलाई रिहा गर्न नहुने सरकारी वकिलको जिकिर थियो । तर, पीडितको बयानका आधारमा अदालतले रिहा गर्न आदेश दिएको हो।

उच्च अदालत जान सकिने

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गुहार्न सकिने जिल्ला बार एसोसिएनका अध्यक्ष हिक्मतबहादुर विष्टले बताए। ‘उच्च अदालत जान सक्ने आधार छन्,’ विष्टले भने। पीडितले नै बयान फेरेका कारण जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत जाने–नजाने यकिन गर्न सकेको छैन।

पैसा लिएको छैन : पीडितका बुबा

पीडित किशोरीका बुबाले जनक परिवारबाट पैसा नलिएको बताए। उनले भने, ‘एकै गाउँमा बस्नु छ, मुद्दामामिला गरेर कसरी बस्नु ?’ पुरानो रिसका आधारमा बलात्कार आरोप लगाएको उनको भनाइ छ। ‘पुरानो रिस थियो, त्यसैले बलात्कार गरेको भनेर उजुरी दिएको थिएँ। त्यस्तो केही भएको थिएन,’ उनले भने। किशोरीका बुबाले नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। नयाँ पत्रिका 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.