काठमाडौं साउन २९ : स्थापना भएदेखि २३ औं बर्षमा आइपुग्दा सम्म सबल हुंदै सञ्चालन भई रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बिभिन्न स्वार्थ समुहहरुको बक्रदृष्टिका कारण टुक्राएर दुई वटा प्राधिकरणमा बिभाजन गर्ने सुनियोजित षडयन्त्र भएको भन्दै संयुक्त ट्रेड युनियन आन्दोलन संघर्ष समिति आन्दोलित भएको छ।
भर्खरै मात्र संघिय संसदमा टेबुल भएको नेपाल नागरिक उड्डयन प्राधिकरण बिधेयक २०७६ र हवाई सेवा प्राधिकरण बिधेयक २०७६ को सम्बन्धमा प्राधिकरणमा क्रियाशिल सम्पुर्ण ट्रेड युनियनहरु, पेशागत संघ–संगठन लगायत आम कर्मचारीहरु बिपक्षमा रहेको र यस बिषयमा जानकारी दिन आज शुक्रबार दिउसो १ बजे संयुक्त ट्रेड युनियन आन्दोलन संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरेको कुरा नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी सुजन भण्डारीले जनाएका छन्।