दुई नेता नेपाल र रावललाई पार्टी सदस्यताबाट ६ महिना निलम्बन

रिपोर्ट नेपाल | 2021 Mar 30 | 07:34 am 2301

काठमाडौं, चैत १७: सत्तारूढ दल एमालेले दुई नेता माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल र रावललाई पार्टी सदस्यताबाटै ६ महिना निलम्बन गरेका हुन्।

‘तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने’, अध्यक्ष ओलीले सोमबार पठाएको पाँचबुँदे निलम्बनसम्बन्धी पत्रमा लेखिएको छ।

यो मौकालाई कमजोरी ठानी पार्टीविरोधी गतिविधि कायमै राखे निलम्बनको अवधिमै थप कारबाही गर्न सकिने चेतावनी दुवै नेतालाई दिइएको छ। ‘यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै’, निलम्बनपत्रमा लेखिएको छ, ‘यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दसौं महाधिवेशन आयोजक कमिटी सदस्य, पार्टीका अन्य सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) हाललाई ६ महिनाको लागि निलम्बन गरिएको छ।’

पार्टीविरोधी गतिविधि गरेको भन्दै नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई चैत ८ मा स्पष्टीकरण सोधिएको थियो  । नेपाल र रावलले आरोपै आरोप लगाउँदै उल्टै अध्यक्ष ओलीलाई नै प्रश्न गरेका थिए। ओलीले संसदीय दलको शुक्रबार बसेको बैठकमा नेपाल र रावलको स्पष्टीकरण चित्तबुझ्दो नभएको सुनाउँदै कारबाहीयोग्य भएको बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.